क्रिकेट : ५२ रन बनाएर २ विकेट गुमाएकाे टिम १ रन जोड्दा ८ विकेट गुम्याे

क्रिकेट अप्रत्याशित खेल हो । कुनै एक खेलाडीले छोटो समयमा नै खेलको दिशा बदल्न सक्छन् । हावी भएको टोली केही ओभरमै दबाबमा पनि फरक सक्छ । अष्ट्रेलियाको घरेलु क्रिकेटमा शुक्रबार त्यस्तै दृश्य देखियो ।

खेलमा मोमेन्टम पाएपछि बलर कति हावी हुन सक्छन् भन्ने पटक पटक देखेका छौं । शुक्रबार अस्ट्रेलियाको घरेलु ५० ओभरको प्रतियोगितामा यहि भयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) बाट लिस्ट ए को मान्यता प्राप्त वान डे कप अस्ट्रेलियामा यस्तो खेल देखिएको हो ।

शुक्रवार पर्थमा भएको खेलमा तास्मानियाविरुद्ध वेस्टर्न अस्ट्रेलियाले पछिल्ला ८ विकेट गुमाउदा १ रन मात्र जोड्न सक्यो । तास्मानियाविरुद्ध वेस्टर्न अस्ट्रेलिया ५३ रनमा अलआउट भएको थियो ।

तास्मानियाका तीव्र गतिका बलर ब्यू वेबस्टर र बिली स्टानलेकले वेस्टर्नको पछिल्ला ८ विकेट लिएका थिए । एक समय ५२ रन बनाएर २ विकेट गुमाएर बलियो स्थितीमा रहेको वेस्टर्नले त्यसपछि लगातार रुपमा विकेट गुमायो ।

वेस्टर्नका पछिल्ला ७ खेलाडीले रनको खाता नै खोल्न सकेनन् । वेस्टर्न अस्ट्रेलियाका लागि ओपनर डार्सी सर्ट र क्यामरुन ब्यानक्रफ्ट मात्र दोहोरो अंकमा रन बनाए ।

वेबस्टरले ६ ओभरमा १७ रन खर्चेर ६ तथा स्टानलेकले ७.१ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

५४ रनको सामान्य लक्ष्य तास्मानियाले ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।