भारत र न्युजिल्यान्डको दोस्रो टेस्ट क्रिकेटमा दर्शकका लागि पिउने पानीको समस्या, २० जना समर्थकलाई अस्पताल भर्ना

 भारत र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट पुणेमा चलिरहेको छ ।

तर, स्टेडियममा दर्शकका लागि पिउने पानीको निकै समस्या देखिएको छ । दोस्रो टेस्टको पहिलो दिन बिहीबार पिउने पानीको अभावका कारण स्वास्थ्यमा समस्या देखिएपछि २० जना समर्थकलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्र क्रिकेट एसोसिएसनले रंगशालामा दर्शकका लागि पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । तर, एसोसिएसनले आफ्नो प्रतिबद्धता पुरा गर्न नसकेको भन्दै अहिले व्यापक आलोचना भइरहेको छ ।
 

महाराष्ट्र क्रिकेट एसोसिएसनले पनि आफ्ना कमजोरी स्वीकार गरेको छ । आफ्नो कमजोरीका कारण समर्थकले सास्ती खेप्नु परेको भन्दै क्षमायाचना पनि गरेको छ । एसोसिएसनले दोस्रो दिनदेखि स्टेडियममा पिउने पानीको अभाव हुन नदिन प्रतिबद्धता पनि व्यक्त गरेको छ ।