रुस भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा युक्रेनमा शान्तिको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गर्नुभएको छ । 

उहाँ पुटिनले किएभमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभएको केही हप्तापछि सन् २०२२ अप्रिलयता पहिलो पटक रुसमा हुनुहुन्थ्यो ।

“हामीलाई युक्रेनमा शान्ति चाहिन्छ । संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय कानून र महासभाका प्रस्तावहरू अनुरूप न्यायपूर्ण शान्ति”, गुटेरेसले ब्रिक्स नेताहरूको गोलमेच बैठकमा भन्नुभयो ।

उहाँले मध्यपूर्वमा पनि शान्तिको आह्वान गर्दै गाजामा ‘तत्काल युद्धविराम’ र लेबनानमा ‘तत्काल शत्रुताको अन्त्य’ हुनुपर्ने बताउनुभयो ।

“विश्वव्यापी चुनौतीहरूको सामना गर्न विश्व परिवारका रूपमा काम गर्ने राष्ट्रहरूको समुदाय चाहिन्छ” महासचिव गुटेरेसले आफ्नो प्रारम्भिक टिप्पणीमा भन्नुभयो ।

उहाँले आफ्नो कुरा सकेपछि पुटिनले कठोर जवाफ दिनुभयो । “महासचिव महोदयले हामी सबै एउटै ठूलो परिवारका रूपमा बस्नुपर्छ भन्नुभयो, परिवारमा दुर्भाग्यवश प्रायः झगडा, स्क्यान्डल, सम्पत्तिको बाँडफाँट र कहिलेकाहीँ लडाइँ पनि हुन्छन्”, उहाँले मुस्कुराउँदै भन्नुभयो, “ब्रिक्सको लक्ष्य आवश्यक अन्तरक्रियाका संयन्त्रहरू सिर्जना गर्नु र साझा घरमा अनुकूल वातावरण सिर्जना गर्नु हो ।”

युक्रेनले पुटिनलाई ‘अपराधी’ भन्दै गुटेरेसको रुस भ्रमणको निर्णयको निन्दा गरेको थियो ।

महासचिव गुटेरेसले बिहीबार पुटिनसँग द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ । वार्तामा उहाँले युक्रेनबारे आफ्नो अडान दोहो¥याउनुहुने उहाँका प्रवक्ताले बताएका छन् ।