अमेरिकी आक्रमण चेतावनीपछि श्रीलङ्काद्वारा तीन व्यक्ति पक्राउ

श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकहरूमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । 

“हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।”उहाँले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई लक्षित गर्ने कथित षड्यन्त्रको सिलसिलामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

श्रीलंकाले अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि सर्फिङ रिसोर्ट अरुगम बेमा र अन्य लोकप्रिय पर्यटकीय स्थलहरूमा सैनिक तैनाथ गरेको सार्वजनिक सुरक्षामन्त्री समेत रहनुभएका हेराथले बताउनुभयो ।यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।

प्रहरीले इजरायलीहरूका लागि हटलाइन स्थापना गरेको थियो । प्रहरीका अनुसार हाल देशमा करिब पाँच सय ७० इजरायली नागरिकहरू रहेको छ ।कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित अरुगम बे इजरायली पर्यटकहरूको लोकप्रिय गन्तव्य हो ।

अमेरिकी चेतावनी इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा गरिएका पोस्टहरूपछि आएको हो ।गाजा र लेबनानमा इरान समर्थित हमास र हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको विरोधमा स्थानीय मुस्लिम समूहहरूले प्रदर्शन पनि गरेका थिए ।

अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्युजिल्यान्डले आफ्ना वेबसाइटहरूमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरूमा नजान सल्लाह दिएको छ ।

पैँतालिस विदेशी नागरिकसहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन ।तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाउने एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।

त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो । तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरूको सङ्ख्या बढेको छ ।