११ दिनमा २५५ भन्दा बढी विमानमा बमको धम्की, ६ अर्ब भारू नोक्सान

 भारतीय विमान कम्पनीहरूकाे उडानमा आज पनि बम राखिएको भन्दै धम्की आएको छ ।

बिहीबार इण्डिगो, एयर इण्डिया, विस्तारा र आकाशा एयरका ८५ उडानमा बमको धम्की आएको हो । जसमध्ये २० उडान एयर इण्डियाका, २० इण्डिगो, २० भिस्टारा र २५ आकाशाका छन् ।त्यसको एक दिनअघि अक्टोबर २३ मा आईटी मन्त्रालयले यी धम्कीका सम्बन्धमा सोसल मिडिया प्लेटफर्म एक्स, मेटा र एयरलाइन कम्पनीहरूसँग भर्चुअल बैठक गरेको थियो ।

सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई यी खतरनाक अफवाह फैलिनबाट रोक्न के गरेको छ भनी सोधेको थियो । पछिल्लो ११ दिनमा मात्रै २५५ भन्दा बढी विमानमा बमको धम्की आएको छ । रिपोर्टका अनुसार धम्कीका कारण उड्डयन क्षेत्रलाई ६ अर्ब भारू (झण्डै १० अर्ब रुपैयाँ) नोक्सान भएको छ ।

विमानमा बम रहेको सूचना पाएपछि उडानलाई निर्धारित विमानस्थलको सट्टा नजिकैको विमानस्थलमा अवतरण गराइएको छ । यसले इन्धन खपत मात्रै गर्दैन, विमानको रि-चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्‍याउने व्यवस्था पनि गर्नु पर्छ । प्रति उडान करिब तीन करोड भारू खर्च हुँदै आएको छ ।