विवादमा तानिएका बंगलादेशका राष्ट्रपति शहाबुद्दीनको राजीनामाका लागि सात दिनको समय सिमा

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनको राजीनामा मागिएको छ । उनको अभिव्यक्ति विवादमा परेपछि भएको प्रदर्शनमा २५ जना घाइते भएका छन् । उनलाई पदबाट राजीनामा दिन आन्दोलनकारीहरुले बढीमा सात दिनको समय दिएका छन् ।

राष्ट्रपतिको राजीनामा माग गर्दै भएको व्यापक विरोध प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीहरुले गएराति राष्ट्रपति कार्यालय बंगभवन घेराउ गरेका थिए । भवनभित्र छिर्न खोजेपछि भएको भिडन्तमा २५ जना घाइते भएको बताइन्छ ।

एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भारतमा निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको कुराबारे अनभिज्ञता जनाएपछि घटनाक्रमले नयाँ रुप लिएको हो । अन्तर्वार्तामा भनिएको छ, ‘राजीनमाबारे आफूले सुनेको तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण देखिएन ।’ 

उता अन्तरिम सरकारका कानुनी सल्लाहकार आसिफ नजरुलले राष्ट्रपतिले पद तथा गोपनियताको सपथको उल्लंघन गरेकाले उहाँमाथि कानुनी कारबाही गर्दै पदबाट हटाउनुपर्ने माग गरेपछि आन्दोलनकारी विद्यार्थीहरु उग्र भएका हुन् ।

दुई विद्यार्थी समूहले राष्ट्रपतिलाई २४ घण्टा र सात दिनभित्र राजीनामा दिन समय दिएका छन् । यसअघि हसिनाका छोरा साजिव वाजेदले आमाले प्रधानमन्त्रीको पदबाट राजीनामा नदिएको दाबी गरेका थिए ।