अमेरिकी चेतावनीपछि श्रीलङ्काद्वारा यहुदी सामुदायिक केन्द्रमा सेना परिचालन

श्रीलङ्काले बुधबार अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि लोकप्रिय सर्फिङ शहरमा रहेको यहुदी सामुदायिक केन्द्र वरिपरि सेना परिचालन गरेको छ र प्रहरी गस्ती बढाएको छ ।

पूर्वी अरुगम बेमा इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा आह्वान गरिएपछि सुरक्षा र चेतावनी बढाइएको हो ।

“इजरायलीहरूले सञ्चालन गरेको ‘चाबाद हाउस’ नामक स्थान लक्षित हुन सक्ने जानकारी थियो र हामीले सुरक्षा बलियो बनाउने उपायहरू अपनाएका छौँ”, प्रहरी प्रवक्ता निहाल थल्दुवाले भन्नुभयो ।उहाँले चाबाद हाउस भ्रमण गर्ने यहुदी पर्यटक र बेको मुस्लिम बहुल जनसङ्ख्याबीच हालैका दिनहरूमा तनाव रहेको बताउनुभयो । 

सेना र नौसेनाका साथै प्रहरी कमान्डोहरूलाई क्षेत्रमा गस्ती बढाउन र चेकपोइन्टहरू सम्हाल्न परिचालन गरिएको छ ।गाजा र लेबनानमा इजरायलले इरान समर्थित हमास र हिजबुल्लाहविरुद्ध गरेको लडाइँको विरोधमा स्थानीय मुस्लिम समूहहरूले गरेका प्रदर्शनहरूले मुख्यतया बौद्ध धर्मावलम्बी रहेको यस दक्षिण एसियाली राष्ट्रको व्यापक समुदायको समर्थन पाएको छ ।

यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।तर कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित सर्फिङको हटस्पट अरुगम बे इजरायली पर्यटकहरूको लोकप्रिय गन्तव्य हो ।

तत्काल खतराको दुर्लभ सूचनामा अमेरिकी दूतावासले बुधबार ‘पूर्वी अरुगम बेमा लोकप्रिय पर्यटकीय स्थलहरूलाई लक्षित गरी आक्रमण हुने चेतावनी दिने विश्वसनीय जानकारी प्राप्त गरेको’ बताएको छ ।

बेलायत र क्यानाडाले आफ्ना वेबसाइटहरूमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरूबाट टाढा रहन सल्लाह दिएको छ ।यसैबीच इजरायलको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) ले ‘पर्यटकीय र तटीय क्षेत्रहरूमा विश्वसनीय आतङ्कवादी खतराहरूका कारण श्रीलङ्काका लागि यात्रा चेतावनी स्तर बढाएको छ’ ।

इजरायलले अरुगम बे र अन्य समुद्री तटहरूमा रहेका आफ्ना नागरिकहरूलाई ‘देश छोड्न वा कम्तीमा स्थानीय सुरक्षा बलहरूको उच्च उपस्थिति भएको राजधानी कोलम्बोमा जान’ आग्रह गरेको छ ।

– नयाँ हटलाइन –

पैँतालिस विदेशी नागरिक सहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन ।तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाएको एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।

त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो ।तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरूको सङ्ख्या बढेको छ ।

अमेरिकी दूतावासको चेतावनीपछि प्रहरीले मुलुकभर पर्यटकहरूको सुरक्षाका लागि नयाँ सुरक्षा योजना सार्वजनिक गर्ने बताएको छ ।

“मध्यपूर्व र पूर्वी युरोपको युद्ध परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी गुप्तचर निकायहरूसँग मिलेर पर्यटक र रिसोर्टहरूको सुरक्षाका लागि एउटा योजनामा काम गरिरहेको छ”, श्रीलङ्का प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिले विस्तृत विवरण दिएको छैन तर पर्यटकहरूले कुनै पनि सुरक्षासम्बन्धी चिन्ताहरूका बारेमा अधिकारीहरूलाई सचेत गराउन एउटा हटलाइन स्थापना गरिएको जनाएको छ ।