युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड

चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गर्नुभएको छ । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित हुनुहुन्थ्यो ।

करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

बेइजिङले द्वन्द्वमा तटस्थ पक्ष भएको दाबी गर्दै आएको भए पनि तर पश्चिमी शक्तिहरूले मस्कोलाई कूटनीतिक र आर्थिक समर्थन प्रदान गरेको भन्दै कडा आलोचना गरेका छन् । मस्को चीनको लामो समयदेखिको सहयोगी रहीआएको छ ।

“युक्रेन सङ्कट लम्बिँदै गएको छ... स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ,  युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने”, सीले बुधबार भन्नुभयो ।

यसैबिच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’ का लागि बेइजिङको धारणा दोहोर्‍याउनुभयो ।

“सम्बन्धित पक्षहरूबीचको सङ्घर्ष थप बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हामीले... हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”