‘मैथिली’ र ‘नेपाल भाषा’ अनुवादकको अभिमुखीकरण

काठमाडौँ, ६ कात्तिकः ‘राष्ट्रिय समाचार समिति मातृभाषा समाचार सेवा’ अन्तर्गत ‘मैथिली’ र ‘नेपाल भाषा’ का अनुवादकलाई आज रासस केन्द्रीय कार्यालयमा रासस समाचार सेवाका साथै यसको कार्यप्रकृतिलगायत विषयमा प्रशिक्षण दिइएको छ । 

गत पुसदेखि मातृभाषा सेवाअन्तर्गत ‘अवधी’ समाचार सेवा सञ्चालन गरिरहेको राससले देशमा नेपालीपछि अधिक बोलिने ‘मैथिली’ र आठौँ स्थानमा रहेको ‘नेपाल भाषा’ समाचार सेवा औपचारिक रूपमा यही कात्तिक ४ गतेदेखि सुरु गरिसकेको छ । परीक्षण प्रकाशनका रूपमा भने गत असोज २९ गतेदेखि मौजुदा जनशक्तिबाट नै ती भाषामा  समाचार सेवा प्रारम्भ भएको थियो । 

नेपाल भाषाका लागि नियुक्त नरोत्तम बज्राचार्य र पौभा डङ्गोल तथा मैथिली भाषाका गजेन्द्रकुमार राय र मृदाङ्का सलोनीलाई राससको इतिहास र परिचय, रासस समाचार सङ्कलन, सम्पादन र सम्प्रेषण, मातृभाषा पत्रकारिता र राससको दायित्व, रासस सेवा र प्रशासन तथा मैथिली र नेपाल भाषा अनुवाद र सम्पादनबारे क्रमशः महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक सोमनाथ लामिछाने र  श्यामप्रसाद  रिमाल,  प्रशासन प्रमुख शीतलप्रसाद महतो, कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र नायब महाप्रबन्धक राजु शाक्यले प्रशिक्षण दिनुभएको थियो । 

त्यसअघि कार्यक्रम उद्घाटनका अवसरमा अध्यक्ष झाले पहिलो पुस्ताका मातृभाषी अनुवादकहरूलाई व्यावसायिकताका साथ राससमार्फत सम्बन्धित समुदायको पहिचान, संस्कृति र भाषा जगेर्नामा लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “केही भाषाहरू लोप हुँदै गएकामा विश्व नै चिन्तित छ, त्यसबाट सम्बन्धित भाषाका ज्ञान र संस्कृति पनि लोप हुनु चिन्ताको विषय हो, राससकर्मीले पत्रकारिता र भाषाको विकाससँगै ज्ञान, संस्कृति र समाज विकासका साथै प्रसारमार्फत योगदान गर्नुपर्छ ।” उहाँले रासस मातृभाषा सेवामार्फत भाषा विकास अभियान पनि थाल्न तथा यसको प्रचारप्रसार र बजारीकरण गर्न रासस मातृभाषा जनशक्तिलाई निर्देशन दिनुभयो । 

महाप्रबन्धक राईले राससको उत्तरदायित्व राज्य र समुदायहरूसँग पनि रहेको जनाउँदै संस्थाको गौरवमय इतिहास बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मातृभाषाका नयाँ जनशक्तिले आफ्नो आत्मविश्वास बढाउनुपर्छ,   तपाईँहरू सधैँ जिज्ञासु र अध्ययनशील हुनुहोस् र राससको छवि उजिल्यान योगदान दिनुहोस् । ”

सरकारको सयदिने लक्ष्यअन्तर्गत राससले नयाँ दुई भाषाका समाचार सेवा प्रारम्भ गरेको हो । यसैअनुसार नेपाल टेलिभिजनले पनि नेपाल भाषा, रेडियो नेपालले दनुवार र गोरखापत्रले रानाथारू भाषाका समाचार ‘बुलेटिन’प्रसारण एवं प्रकाशन आरम्भ गरेका छन् ।