इरानका लागि जासुसी गरेको आरोपमा इजरायलमा ७ इजरायली नागरिक पक्राउ

इरानका लागि जासुसी गरेको आरोपमा इजरायलमा ७ इजरायली नागरिक पक्राउ परेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार पक्राउ पर्नेहरूमाथि दुई वर्षसम्म इरानका लागि जासुसी गरेको र उसका लागि सयौँ काम गरेको आरोप छ ।

‘यो सबैभन्दा गम्भीर घटना मध्ये एक हो’ इजरायलका एक प्रहरी प्रवक्ताले भनेका छन् । यसका लागि उनीहरूलाई मृत्युदण्ड हुन सक्ने बताइएको छ । यी सबै अभियुक्त हाइफा वा उत्तरी इजरायलका बासिन्दा हुन् । यिनीहरूमा केही वर्षअघि सेनाबाट भागेका सिपाही पनि रहेको बताइएको छ । दुई जना भने १६–१७ वर्षका नाबालिग पनि छन् । तर यिनीहरूको परिचय भने खुलाइएको छैन ।

यिनीहरूले दुई वर्षमा करिब ६०० वटा मिसन पूरा गरेको अधिकारीहरूको भनाई छ । आरोपीहरूले पैसाको लोभमा इरानका लागि गुप्तचर सूचना सङ्कलन गर्ने गरेको बताइएको छ । 

आरोपीहरूले इरानलाई इजरायलको सैन्य अड्डा र आणविक हतियार र गोलाबारुदको जानकारी दिएको भनिएको छ । उनीहरूले दिएको जानकारीका आधारमा इरानले इजरायलका धेरै ठाउँमा आक्रमण पनि गरेको थियो ।