सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्तको जमानत निवेदन खारेज

मकोका अदालतले सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानतको निवेदन खारेज गरेको छ ।

महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन  (मकोका) को विशेष अदालतले यदि अभियुक्त रिहा भएमा उसले भविष्यमा फेरि यस्ता घटना गर्न सक्ने बताएको हो। आरोपीको मनसाय सलमान खानको हत्या गर्ने रहेको अदालतको ठहर छ ।

बिहीबार (अक्टोबर १७) मा अदालतले निवेदन खारेज गरेको थियो । यसको प्रति सोमबार सार्वजनिक गरिएको हो । विक्कीले आफ्नो प्रतिरक्षामा भने, ‘म मात्र बाइक चलाइरहेको थिएँ, गोली हान्ने व्यक्ति मेरो पछाडि बसेको थियो । मेरो सलमानलाई हानि गर्ने कुनै मनसाय थिएन। म परिस्थितिको सिकार मात्र हुँ, मलाई निरन्तर हिरासतमा राख्नु ठिक होइन ।’

आदेश पढ्दै गर्दा न्यायाधीश बीडी शेल्केले सलमान खानले दर्ता गरेको एफआईआर उल्लेख गरे। एफआईआरमा यो स्पष्ट लेखिएको छ कि आरोपीले ग्यालेक्सी अपार्टमेन्टको बालकनीमा गोली चलाएका थिए, जहाँ सलमान प्रायः आफ्ना फ्यानहरूलाई अभिवादन गर्छन्। उनी हरेक बिहान पनि त्यहीँ बस्छन् ।

न्यायाधीश शेल्केले भने, ‘सलमानको एफआईआर र गोली लागेको ठाउँ हेर्दा दुवै अभियुक्त अभिनेताको हत्या गर्ने नियतले आएको देखिन्छ ।

मुम्बई प्रहरीले गोली चलाउने विक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो । यसका साथै यस मामिलामा अर्का एक व्यक्तिसहित अनुज थापान ९३२० लाई अप्रिल २६ मा पञ्जाबबाट पक्राउ गरिएको थियो ।

मुम्बई क्राइम ब्रान्चका अधिकारीहरूका अनुसार ग्याङ्स्टर लरेन्स र उनका भाइ अनमोललाई यस मामिलामा वान्टेड आरोपी घोषित गरिएको छ। हमलापछि अनमोलले फेसबुकमा पोस्ट लेख्दै सलमानको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएका थिए ।

सलमानका नजिकका सहयोगी र महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दिकीको हत्यामा पनि लरेन्स ग्याङको नाम आएको थियो । उनलाई १२ अक्टोबर राति करिब ९ः३० बजे बान्द्रामा गोली हानी हत्या गरिएको थियो। लरेन्स ग्याङका एक सदस्यले यस हत्याको जिम्मेवारी लिएका छन् । ती व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सलमानलाई सहयोग गर्ने जोसुकैलाई पनि छोडिने छैन ।’