रुस गए मोदी, पुटिनसँग आजै भेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस गएका छन् । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन मोदी रुस गएका हुन् । 

उनी आज बिहान ७ बजे (स्थानीय समय अनुसार) रुस गएका हुन् । दुई दिने उनको रुस भ्रमणका क्रममा विभिन्न साइडलाइन वार्ता पनि हुनेछन् । 

मोदी पछिल्लो चार महिनामा दोस्रो पटक रुस गएका हुन् । उनी गत जुलाईमा भारत–रुस शिखर सम्मेलनमा भाग लिन पुगेका थिए । 

मोदीले साँझ ब्रिक्समा सहभागी विश्वका नेताहरुसँग रात्रिभोज गर्नेछन् । साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्नेछन् । 

भारतीय विदेश मन्त्रालयका अनुसार बुधबार मोदीले ब्रिक्सको बैठकमा भाग लिनेछन् । यो दुई सेसनमा हुनेछ । बिहान बन्द सत्र हुनेछ भने साँझ खुला सत्र हुनेछ । 

ब्रिक्स सम्मेलनका क्रममा मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि वार्ता हुने सम्भावना रहेको बताइएको छ । दुई वर्षपछि दुवैबीच वार्ता हुने सम्भावना रहेको विदेश मन्त्रालयले जनाएको छ । 

पछिल्लो पटक सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका क्रममा दुवैले छलफल गरेका थिए । गत वर्ष दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सम्मेलनमा दुवै नेता सामेल भए पनि वार्ता भने हुन सकेको थिएन । 

यसपालि भारत र चीनबीच सीमामा सहमति भएसँगै मोदी–सीबीच वार्ता हुने प्रवल सम्भावना भएको जनाइएको हो । 

मोदी बुधबार फर्कने छन् भने बिहीबारको ब्रिक्स प्लसमा विदेश मन्त्री डा एस जयशंकरले नेतृत्व गर्नेछन् ।