चीन र भारतबीच नयाँ सम्झौता

 चीन र भारत लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौतामा पुगेका छन् । यसले सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुन सक्ने बताइएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले अगाडि भनेका छन्, ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’

२०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यसमा २० भारतीय सैनिक मारिए, केही चिनियाँ सैनिकको पनि मृत्यु भयो ।यो घटनापछि दुबै देशको सीमामा तनाव छ । यो घटनापछि दशजगाको जुन इलाकासम्म भारतीय सैनिकले गस्ती गर्थ्यो, त्यहाँ पुग्न चीनले रोकेको भारतीय दाबी छ ।

अब भारत २०२० को अवस्थामा फर्किने विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।

भारतका सामरिक विशेषज्ञ ब्रम्हा चेलानी भने भारत र चीनको बीचमा सन्य गतिविधि अन्त्य गर्ने कुनै घोषणा नभएको बताउँछन् । बीबीसी हिन्दीका अनुसार उनले भनेका छन्, ‘ब्रिक्स समिटमा मोदी र सी जिनपिङको बैठकलाई सहज बनाउन दुबै देश गस्तीबारे एउटा सहमतिमा पुगेका हुन् ।’

ब्रिक्स समिट २२–२३ अक्टोबरमा रुसमा हुनेछ । सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्वीपक्षीय भेट हुनसक्ने छ । भारतीय विदेश सचिव मिस्रीले भने भेटवार्ताको पुष्टि गरेका छैनन् ।