घरमा लडेर ब्रजिलका राष्ट्रपति सिल्भा घाइते

 ब्रजिलका राष्ट्रपति लुला डा सिल्भा आफ्नै घरमा दुर्घटना परेपछि पाँच टाका लगाइएको छ । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति सिल्भा आफ्नै घरमा दुर्घटनामा परेपछि टाउकोमा चोट लागेको छ ।

ब्रजिलको राजधानी ब्रासिलियाको अस्पतालले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएको बताएको छ । त्यस्तै स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् ।

टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको थियो । अब राष्ट्रपति सिल्भाले भिडियो कन्फेरेन्सबाट सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।

ब्रिक्सु पाँच विकासशील देशहरूको समूह हो जसमा ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन् ।

रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ ।