सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, ३० असोज : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । 
    
‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बीच डिजिटल सहकार्यका लागि आज यहाँ आयोजित समारोहमा उहाँले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताउनुभयो । 
    
उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिनुभयो । “प्रविधिको बिस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ । नेपालको आइटी क्षेत्रको निर्यात बढ्दै गएको छ । यस्तै निर्यातको सम्भावनाको नयाँ ढोका खुलेको छ”, उहाँले भन्नुभयो ।  
    
उपप्रधानमन्त्री पौडेलले नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको डिजिटल सहकार्यका लागि साझेदारीले नेपालको डिजिटल मिडिया परिदृष्यमा नयाँ आयाम थप गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 
    
“नेपालको मिडिया उद्योगले पनि डिजिटल प्रविधिलाई अँगालेका छन् । कैयौँ अनलाइन समाचार पोर्टल पाठकमाझ लोकप्रिय भइसकेका छन्”, उहाँले भन्नुभयो, “डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तर पत्रकारिताका लागि पनि ध्यान दिन आवश्यक छ ।”
    
सरकारले आमसञ्चारलाई स्वस्थ्य, स्वच्छ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति लिएको उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । उहाँले त्यसका लागि आमसञ्चार माध्यमको महत्त्व र भूमिका एवं योगदानको अपेक्षा रहेको उल्लेख गर्नुभयो । 
    
दुवै प्रकाशनबीच ‘डिजिटल पेवाल’ मा सहकार्य 

नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीच ‘डिजिटल पेवाल’ मा औपचारिक रूपमा आज सहकार्य भएको छ । अब रिपब्लिक मिडियाका ग्राहकले निश्चित शुल्क तिरेर डिजिटल ग्राहकका रूपमा न्युयोर्क टाइम्सका डिजिटल सामग्रीमा पूर्ण पहुँच प्राप्त गर्न सकिने बताइएको छ । समारोहमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले यी दुई प्रकाशनबीचको सहकार्यले दुई देशबीचको सम्बन्धलाई पनि थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले यस सहकार्यले विज्ञापनमै निर्भर स्थानीय सञ्चारमाध्यमलाई आम्दानीका नयाँ स्रोत पहिल्याउन सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार रिपब्लिका र नागरिकका ग्राहकलाई वार्षिक शुल्क रुपैयाँ तीन हजार पाँच सयमा न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिक्सलगायत सामग्री पूर्ण पहुँच हुनेछ ।