भारत-क्यानडा सम्बन्ध जटिल मोडमा: निज्जर हत्याकाण्ड

क्यानेडियन सिख नेता हरदीपसिंह निज्जर हत्याकाण्डमा भारत र क्यानडाबिच फेरी तनाव सुरु भएको छ । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जर हत्याकाण्डको छानबिनमा भारतले सहयोग नगरेको वक्तव्य दिएसँगै फेरी दुई देश बिच तनतनी सुरु भएको हो ।  

दुवै देशले आफ्नो देशमा रहेका कूटनीतिक अधिकारीलाई निष्कासन समेत गरेका छन् । भारतले क्यानडासँगको कूटनीतिक संवादलाई समेत अन्त्य गरेको घोषणा गरेको छ । जसले दुई देश बिचको कूटनीतिक सम्बन्ध निकै जटिल मोडमा पुर्‍याएको छ ।  

ट्रुडोले के भनेका थिए ?

क्यानेडियन प्रधानमन्त्री ट्रुडोले सोमबार ‘भारत सरकारसँग जोडिएको हिंसात्मक आपराधिक गतिविधिमा चलिरहेको अनुसन्धान’ भन्दै एक वक्तव्य जारी गरेका थिए । जसमा उनले आफ्नो देशका एजेन्सीको अनुसन्धानमा ‘क्यानडाको जमिनमा क्यानेडियन नागरिक हरदीपसिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको सिधा संलग्नता रहेको’ खुलेको बताएका छन् ।  

रोयल क्यानेडियन माउन्टेन पुलिस(आरसिएमपी)को अनुसन्धानमा भारतीय राजदूतावासमा कार्यरत ६ जना अधिकारी आपराधिक गतिविधिमा रुचि राख्ने किसिमका पाइएको ट्रुडोको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा कसैको नाम भने उल्लेख छैन । तर यसमा क्यानडामा रहेका भारतीय राजदूत सञ्जयकुमार बर्मालाई समेत आरोप लगाइएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।  

‘आरसिएमपीका आयुक्त माइक डुहेमले आज भनेका छन्, आरसिएमपीसँग स्पष्ट प्रमाण छन्, जसमा भारत सरकारका अधिकारी यस्तो गतिविधिमा संलग्न हुने गरेका छन् । जो सार्वजनिक सुरक्षाका माथि एक ठुलो खतरा पैदा गर्छ,’ प्रधानमन्त्री ट्रुडोले भनेका छन्,‘जसमा गोप्य सूचना एकत्रित गर्ने, दक्षिण एसियाली मूलका क्यानेडियन नागरिकलाई लक्षित गरेर बलपूर्ण व्यवहार गर्ने र हत्याका एक दर्जन बढी धम्कीसहितका हिंस्रक काममा संलग्नताका घटना छन् ।’  

यो विषयमा क्यानेडियन अनुसन्धानकर्ता र सुरक्षा अधिकारीले भारतीय पक्षसँग बारम्बार कुरा गर्न खोज्दा सहयोग नभएको ट्रुडोको वक्तव्यमा उल्लेख छ ।  

भारत सरकार अहिले पनि सहयोग गर्न इन्कार गरिरहेकाले क्यानेडियन विदेश मन्त्री मेलानी जोलीले आपराधिक क्रियाकलापमा संलग्न ६ भारतीय अधिकारीलाई क्यानडा छोड्न निर्देशन गरिसकेको पनि ट्रुडोले भनेका छन् । ती अधिकारीहरूले अब क्यानडा छोड्नुपर्ने, आइन्दा क्यानडामा कूटनीतिक काम गर्न नपाउने र क्यानडा प्रवेश समेत नपाउने बताएका छन् ।  

‘हामी क्यानडाको धरतीमा क्यानेडियन नागरिकलाई धम्क्याउने र मार्ने काममा विदेशी सरकारको संलग्नतालाई सहन्नौँ । जुन क्यानडाको सम्प्रभुता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलंघन हो,’ ट्रुडोले अगाडि भनेका छन्,‘एक पटक फेरी पनि भारत सरकारसँग यो अनुसन्धानमा हामीलाई सहयोग गर्न आग्रह छ । भ्रामक बयानबाजी छाडेर हामीले देखाएका विश्वसनीय प्रमाण र जानकारी गम्भीरतापूर्वक लेओस् ।’ ट्रुडोले भारत र क्यानडा सम्बन्धको लामो सम्बन्ध पनि स्मरण गराएका छन् ।  

ट्रुडोको वक्तव्यले भारत क्रुद्ध  

यता निज्जर हत्याकाण्डमा भारत सरकारको संलग्नता भन्दै क्यानेडियन प्रधानमन्त्री ट्रुडो बयान दिएपछि भारत क्रुद्ध बनेको छ । उसले सोमबार नै भारतमा रहेका क्यानडाका ६ जना कूटनीतिक अधिकारीलाई देश छाड्न निर्देशन दिएको छ । भारतीय विदेश मन्त्रालयले यही अक्टोबर १९ तारिकको अन्त्यसम्ममा भारत छाड्न निर्देशन दिएको हो ।  

यस्तै भारतले क्यानडासँगको कूटनीतिक संवादको समेत अन्त्य गरेको घोषणा गरेको छ ।  

भारतीय विदेश मन्त्रालयले सोमबार साँझ वक्तव्य जारी गर्दै भनेको छ,‘ट्रुडो सरकारको रवैयाका कारण भारतीय कूटनीतिक अधिकारीको सुरक्षामा खतरा भएको छ । यसलाई मध्यनजर गर्दै भारतले क्यानडाबाट आफ्ना राजदूतसहितका कूटनीतिक अधिकारीलाई फिर्ता बोलाउने फैसला गरेको छ ।’ यस्तै भारतले क्यानडा सरकार भारत विरुद्ध पृथकतावादी अतिवादीको समर्थन गरिरहेको आरोप लगाएको छ । ‘यस विरुद्ध भारतलाई जवाफ दिने अधिकार छ’, भन्दै भारतीय विदेश मन्त्रालयले निज्जर हत्याको समर्थन जनाउने आशय वक्तव्यमा उल्लेख गरेको छ ।  

विदेश मन्त्रालयको विज्ञप्तिमा ट्रुडोले ‘भोट बैंक’को राजनीति गरेको समेत आरोप लगाएको छ । ‘प्रधानमन्त्री जस्टिन ट्रुडो हिंसक अतिवादीलाई संरक्षण गरिरहेका छन् । जो क्यानडामा भारतीय कूटनीतिक अधिकारी र त्यहाँको समुदायलाई धम्की दिन्छन् । क्यानडाको सरकार अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्तो गतिविधिमा स्वतन्त्रता दिइरहेको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।  

निज्जर हत्याकाण्ड के हो ?

हरदीपसिंह निज्जर भारतीय मूलका क्यानेडियन नागरिक थिए । उनी क्यानडामा बस्दा त्यहाँका सिख धर्मका धार्मिक नेता बनेका थिए, क्यानडामा रहेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए ।  

गएको वर्ष सन् २०२३ जुन १८ मा गुरुद्वाराको पार्किङ क्षेत्रमा अज्ञात समूहले गोली हानेर निज्जरको हत्या गरेको थियो । जसमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ९रअ०को संलग्नता रहेको आशंसा गरिएको थियो ।