विश्वका शीर्ष १० धनाढ्य व्यक्ति काे कुन क्षेत्रबाट ?

विश्वका शीर्ष १० धनाढ्यमध्ये नौ जना प्रविधि क्षेत्रमा काम गर्ने

विश्वका शीर्ष १० धनाढ्यमध्ये नौ जना प्रविधि क्षेत्रमा काम गर्ने व्यक्ति परेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सको पछिल्लो सूची अनुसार शीर्ष १० धनाढ्यमा टेस्लाका सीईओ एलन मस्कदेखि गुगलका सहसंस्थापक सर्गेई ब्रिनसम्म छन् ।

धनाढ्यको शीर्ष सूचीमा एलन मस्क पहिलो स्थानमा यथावत् छन् । मस्क विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला, रकेट निर्माता कम्पनी स्पेसएक्सका सीईओ र सामाजिक सञ्जाल एक्सका मालिक हुन् । उनको अधिकांश सम्पत्ति टेस्ला र स्पेसएक्सको शेयरमा निर्भर हुन्छ । ब्लुमबर्गका अनुसार हाल मस्कको सम्पत्ति २६३ अर्ब डलर छ ।

५३ वर्षीय मस्क न्युरालिङ्क, बोरिङ तथा एक्सएआई लगायतका कम्पनीमा पनि आवद्ध छन् । ​टेस्लाको शेयर बढ्नु, स्पेसएक्सले सफलता पाउनु, नवीकरणीय ऊर्जामा लगानी गर्नु र अन्य उद्यमशीलता गतिविधिमा संलग्न हुनु मस्कको सफलताको राज हो ।

ब्लुमबर्गका अनुसार विश्वका धनाढ्यको दोस्रो सूचीमा ४० वर्षीय मार्क जुकरबर्ग रहेका छन् । हाल उनीसँग २११ अर्ब डलर बराबरको सम्पत्ति छ । जुकरबर्ग सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकका निर्माता हुन् । उनको कम्पनी मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स लगायतका सामाजिक सञ्जाल छन् । उनको सम्पत्ति मेटाको शेयरमा निर्भर हुन्छ ।

पछिल्लो समय मेटाको शेयर बढ्दा उनको सम्पत्ति उल्लेखनीय रूपमा वृद्धि भएको हो । पछिल्लो समय उनी मेटाभर्स र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिमा आवद्ध छन् । यी क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दा मेटाको शेयरमा उल्लेखनीय वृद्धि भएको मानिन्छ । उनी विश्वका सबैभन्दा युवा अर्बपतिमध्ये एक हुन् ।

ब्लुमबर्गका अनुसार धनाढ्यहरूको शीर्ष तेस्रो स्थानमा जेफ बेजोस रहेका छन् । ईकमर्स प्लेटफर्म अमेजनका संस्थापक बेजोस ६० वर्षका छन् । उनको कूल सम्पत्ति २०९ अर्ब डलर रहेको छ । उनको सम्पत्तिको मुख्य स्रोत अमेजन हो । अमेजनको स्थापना र सफलता, क्लाउड कम्प्युटिङ सेवा (AWS) र अन्य क्षेत्रमा उनको लगानी रहेको छ । उनी लामो समयसम्म विश्वका सबैभन्दा धनी व्यक्ति थिए ।

बर्नार्ड अर्नोल्ट विश्वका चौथो धनी व्यक्ति हुन् । उनी प्रत्यक्ष रूपमा प्रविधि कम्पनीमा आवद्ध छैनन् । ७५ वर्षीय अर्नोल्टको सम्पत्तिको मुख्य स्रोत लुई भितन नामको लक्जरी ब्रान्ड हो । उनको लगानी फेसन उद्योग र होटल लगायतका क्षेत्रमा छ । उनीसँग कूल १९३ अर्ब डलर बराबरको सम्पत्ति छ । 

विश्वको शीर्ष धनाढ्यको पाँचौं सूचीमा ८० वर्षीय ल्यारी एलिसन रहेका छन् । उनी बहुराष्ट्रिय प्रविधि कम्पनी ओराकलका संस्थापक हुन् । यो कम्पनी आफ्ना सफ्टवेयर प्रडक्ट, डेटाबेस मेनेजमेन्ट सिस्टम, क्लाउड सोलुसन र इन्टरप्राइज सफ्टवेयरका कारण चर्चित छ । उनीसँग हाल १८३ अर्ब डलर बराबरको सम्पत्ति छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स शीर्ष धनाढ्यको छैटौं स्थानमा छन् । ६८ वर्षका गेट्स माइक्रोसफ्टमा कार्यकारी भूमिकामा छैनन् । यद्यपि उनको सम्पत्तिको मुख्य स्रोत माइक्रोसफ्टको शेयर नै हो । उनी परोपकारी काममा बढी सक्रिय छन् । उनीसँग हाल १६१ अर्ब डलर बराबरको सम्पत्ति छ ।

गुगलका सहसंस्थापक ल्यारी पेज शीर्ष धनाढ्यको सातौं स्थानमा छन् । ५१ वर्षीय ल्यारी पेजको कूल १५१ अर्ब डलर सम्पत्ति छ । उनको सम्पत्तिको स्रोत गुगल हो । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन तथा एन्ड्रोइड अपरेटिङ सिस्टम गुगलकै मातहतमा छन् । पछिल्लो समय यो कम्पनी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि उत्तिकै सक्रिय छ ।

विश्वको शीर्ष आठौं धनाढ्य व्यक्तिको सूचीमा ९४ वर्षीय वारेन बफेट रहेका छन् । उनी लगानीकर्ता कम्पनी बेर्कशाइर ह्याथवेका अध्यक्ष हुन् । उनको यस कम्पनीले एप्पल, अल्फाबेट, अमेजन, क्वाल्कम लगायतका कम्पनीमा लगानी गरेको छ । उनीसँग कूल १४६ अर्ब डलर बराबरको सम्पत्ति छ ।

७८ वर्षीय स्टिभ बल्मर विश्वका शीर्ष नवौं धनाढ्यमा पर्छन् । माइक्रोसफ्टका पूर्वसीईओ रहेका उनको कूल सम्पत्ति त्यही कम्पनीको स्टकमा निर्भर छ । उनी माइक्रोसफ्टमा सबैभन्दा लामो समय काम गर्ने व्यक्तिमध्ये एक हुन् । उनीसँग कूल १४५ अर्ब डलर बराबरको सम्पत्ति छ ।

गुगलका सह-संस्थापक सर्गेई ब्रिन विश्वका धनाढ्यको शीर्ष १० औं स्थानमा छन् । उनको सम्पत्तिको मुख्य स्रोत गुगल हो । उनीसँग कूल १४२ अर्ब डलर बराबरको सम्पत्ति छ ।