भारतीय गाउँलेहरूले नरभक्षी बथानको अन्तिम ब्वाँसोलाई मारे

महिनौँको त्रासपछि बहराइचको महसी क्षेत्रमा आतङ्क मच्चाउने छ वटा ब्वाँसोको बथानलाई अन्ततः नष्ट गरिएको छ । शनिबार तमाचपुर गाउँमा एउटा बाख्रा शिकार गर्ने प्रयास गर्दा गाउँलेहरूले अन्तिम ब्वाँसोलाई पिटेर मारे । 

त्यसपछि गाउँमा आएर वन विभागले मृत ब्वाँसोलाई बरामद गर्यो । शव परीक्षणपछि थप कदम चालिने बताइएको छ । 

“धेरै दिनदेखि विभागको टोलीहरूले अन्तिम ब्वाँसोलाई समात्न प्रयास गरिरहेका थिए, गाउँमा एउटा मृत जनावर रहेको जानकारी प्राप्त भएपछि हाम्रो टोलीले तुरुन्तै गएर हेर्दा त्यहाँ एउटा मृत ब्वाँसो थियो र उसको शरीरमा घाउका चिह्नहरू थिए”, बहराइच जिल्लाका वन अधिकारी अजित सिंहले भन्नुभयो, “गाउँले वा अन्य कसैले यसलाई मारेको हुनसक्छ, हामी यसको अनुसन्धान गर्नेछौँ, अनुसन्धानपछि मात्र केही थप भन्न सक्छौँ ।”

गत केही महिनादेखि यी छ वटा ब्वाँसको बथानले उत्तर प्रदेशको बहराइच जिल्लाको महसी तहसिलका धेरै गाउँमा आतङ्क मच्चाएको थियो । 
    
यसअघि उत्तर प्रदेश वन विभागले बहराइच वन प्रभागको बहराइच रेन्जअन्तर्गत महसी तहसिलका २५÷३० गाउँमा हालैका आक्रमणका लागि जिम्मेबार ब्वाँसोको बथानलाई पक्रन ‘अपरेसन भेडिया’ सुरु गरेको थियो । वन विभागले सेप्टेम्बर १० मा पाँचौँ ‘हत्यारा’ ब्वाँसोलाई पक्रेको थियो । 

छैटौँ ब्वाँसोलाई पक्रन बहराइचको वन विभागले त्यस क्षेत्रमा ब्वाँसोहरूको सम्भावित बासस्थानमध्ये धेरैजसो  स्थानमा कुनै पनि गतिविधि निगरानी गर्न स्न्याप क्यामेराहरू जडान गरेको थियो । 

स्थानीय गाउँलेहरूले सिकन्दरपुर गाउँमा ब्वाँसोहरूको बासस्थान भनेर दाबी गरेका छ वटा गुफा परपर तीनवटा स्न्याप क्यामेरा जडान गरिएका थिए ।बहराइचका विभिन्न गाउँमा अहिलेसम्म नरभक्षी ब्वाँसोहरूको आक्रमणका कारण नौ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।