स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण, नागरिकलाई सहज

जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ ।

यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताउनुभयो ।

“यो दसैँमा नुनको अभाव हुने छैन, ” उहाँले भन्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिनुभयो ।