टिकटकविरुद्ध बाल गोपनीयता कानून उल्लङ्घनकाे मुद्दा

टेक्सासका एटर्नी जनरल केन प्याक्स्टनले नयाँ बाल गोपनीयता कानून उल्लङ्घन गरेको आरोप लगाउँदै टिकटकविरुद्ध मुद्दा दायर गरेका छन्। यो मुद्दा टेक्सासको “सेक्युरिङ चिल्ड्रेन अनलाइन थ्रु प्यारेन्टल इम्पावरमेन्ट (स्कोप) ऐनको पहिलो परीक्षण हुनेछ, जुन ऐन एक महिनाअघि मात्र लागू भएको थियो।

यो ऐनका केही भागहरू एक संघीय न्यायाधीशले रद्द गरेका थिए र यस अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले कम उमेरका प्रयोगकर्ताहरूको उमेर प्रमाणित गर्नुपर्छ र अभिभावकहरूले आफ्ना बालबालिकाको डाटा सङ्कलनबाट बाहिर निकाल्न सक्ने सुविधा, साथै अभिभावकीय नियन्त्रणको व्यवस्था गर्नुपर्छ।

प्याक्स्टनले टिकटकको वर्तमान अभिभावकीय नियन्त्रण सुविधाहरू अपुग रहेको दावी गरेका छन्। “टिकटकले १३ देखि १७ वर्षका प्रयोगकर्ताहरूको अभिभावकहरूलाई बालबालिकाको गोपनीयता र खाता सेटिङ नियन्त्रण गर्ने सुविधाहरू उपलब्ध गराउँदैन,” मुद्दामा भनिएको छ। “उदाहरणका लागि, अभिभावकहरूले टिकटकले बालबालिकाको व्यक्तिगत जानकारी साझेदारी, खुलासा, र बिक्री गर्नबाट रोक्न सक्दैनन्, न त लक्षित विज्ञापन देखाउने क्षमतालाई नियन्त्रण गर्न सक्छन्।”

मुद्दामा एपको “फ्यामिली पेयरिङ” उपकरण “व्यावसायिक रूपमा उचित” छैन किनभने यसले अभिभावकहरूलाई आफ्नै टिकटक खाता बनाउन आवश्यक बनाउँछ, र किशोरहरूले आफ्नो अभिभावकहरूको निगरानी उपकरण सेटअपको अनुरोध अस्वीकार गर्न स्वतन्त्र हुन्छन् भन्ने दावी पनि गरिएको छ।

इन्ग्याजेटका अनुसार टिकटकले तुरुन्तै प्रतिक्रिया दिएको छैन। यो एपले पहिले नै १८ वर्ष मुनिका व्यक्तिहरूमाथि अधिकांश लक्षित विज्ञापनहरू प्रतिबन्धित गरिसकेको छ।टिकटकले एक्समा साझा गरिएको बयानमा भनेको छ, “हामी यी आरोपहरूमा कडा आपत्ति जनाउँछौं र हामीले किशोर र अभिभावकहरूका लागि दह्रो सुरक्षा व्यवस्था प्रदान गरेका छौं, जसमा फ्यामिली पेयरिङ पनि समावेश छ, जुन सबै सार्वजनिक रूपमा उपलब्ध छन्। हामीले परिवारहरूलाई दिएको सुरक्षामा अडिग छौं।”

यो मुद्दा अमेरिकामा टिकटकविरुद्ध बढ्दै गएको कानूनी चुनौतीहरूमा थप प्रहार हो। हाल कम्पनी अमेरिकी कानूनसँग लडिरहेको छ, जसले एपमा पूर्ण प्रतिबन्ध लगाउन सक्छ। टिकटक बाल गोपनीयतासँग सम्बन्धित छुट्टै न्याय विभागको मुद्दासमेत सामना गरिरहेको छ।