लेबनानमा तीव्र गोलाबारी, २१५ चिनियाँ नागरिकको उद्धार

इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको पकड रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको बताएको थियो ।

इजरायलले हालै लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेको छ । यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेयता दैनिकजसो भिडन्त हुनेगरेको छ। रूस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका विभिन्न देशले पनि लेबनानबाट आफ्ना नागरिकलाई हटाउने अभियान सुरु गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ ।”“लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको छ र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई कहाँ लगिएको हो भन्ने बारे मन्त्रालयले केही बताएको छैन ।लेबनानी अधिकारीहरूका अनुसार सेप्टेम्बर २३ मा इजरायली बमबारीमा वृद्धि भएयता लेबनानमा एक हजार ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि चीनले बुधबार विश्वशक्ति राष्ट्रहरूसँग द्वन्द्वलाई थप अगाडि बढ्न नदिन पहल गर्न आग्रह गरेको थियो ।