चीन र फिलिपिन्सबीच तनाव बढ्दै, फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार

पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ ।

केही समयअघि चिनियाँ युद्धपोतले फिलिपिन्सको मत्स्य एवम् जलचर स्रोत ब्युरोको हवाईजहाजलाई लक्षित गरी लेजर प्रहार गरेको घटना बाहिरिएको छ ।

ब्युरोका अनुसार पश्चिम फिलिपिन्स सागरमा निरीक्षण अभियानमा खटिएको हवाईजहाजलाई लक्षित गरी चिनियाँ नौसेनाको युद्धपोतले तीन पटक सघन लेजर प्रहार गरेको थियो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिन्स सागर भन्ने गरेको छ ।

फिलिपिन्स डेली इनक्वायररका अनुसार घटना हासाहासा शोल नजिकै भएको हो । चिनियाँ तटरक्षक बलको युद्धपोत र नौसेनाको टाइप २२ होउबेइ क्लास युद्धपोतले ब्युरोका दुई पानीजहाजलाई लखेटेको थियो ।

त्यसको निरीक्षणका लागि खटिएको ब्युरोको सेस्ना हवाईजहाजलाई लक्षित गरी चिनियाँ नौसेनाका युद्धपोतले लेजर प्रहार गरेको इनक्वायररले जनाएको छ ।