इरान र इजरायलबीच तनाव बढ्दो, कच्चा तेलको मूल्य बढ्न सक्ने आशंका

इरान र इजरायलबीच बढिरहेको तनावको सबैभन्दा ठूलो असर कच्चा तेलको मूल्यमा पर्ने आशंका छ । यो तनावका कारण विश्वभरमा इन्धनको मूल्य बढ्न सक्ने आशंका गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सो आशंका चिन्तामा बदलिएको बताएका छन् । इजरायलले इरानको इन्धन भण्डारलाई निसाना बनाउन सक्ने बताएको छ । इरानको इन्धन भण्डारमा इजरायलले हमला गरे अमेरिकाको समर्थन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा बाइडेनले यस विषयमा आफूहरूले छलफल गरिरहेको बताएका छन् । बाइडेनको यो भनाइपछि विश्वबजारमा कच्चा इन्धनको मूल्य पाँच प्रतिशतले बढेको छ । 

गएको मंगलबार इरानले इजरायलमाथि करिब २०० मिसाइल आक्रमण गरेको थियो । इरान विश्वभरका इन्धन उत्पादकमध्ये सातौँ ठूलो देश हो । इरानले आफूले उत्पादन गरेको इन्धनको करिब आधा निर्यात गर्छ । 

विश्वको चौथो ठूलो इन्धन भण्डार इरानसँग छ । अर्कोतिर इरान विश्वकै दोस्रो ठूलो ग्याँस भण्डार हो । पेट्रोलियम निर्यात देशहरूको संगठनमा इरान तेस्रो ठूलो उत्पादक देश हो । इरानले प्रतिदिन लगभग ३० लाख ब्यारल (४७ करोड लिटरभन्दा बढी) इन्धन उत्पादन गर्छ । यो भनेको वैश्विक इन्धन उत्पादनको तीन प्रतिशत हो । 

अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्य बताउने बेञ्चमार्क ‘बे्रन्ट क्रुड’का अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले इरानी इन्धन भण्डारमा इजरायली हमलाको आशंका गर्नेबित्तिकै कच्चा इन्धनको मूल्य पाँच प्रतिशतले बढ्यो । ‘ब्रन्ट क्रुड’का अनुसार इजरायलमाथि इरानी हमलायता विश्वबजारमा कच्चा इन्धनको मूल्य १० प्रतिशत बढेर प्रतिब्यारेल ७७ अमेरिकी डलर पुगेको छ । इजरायलले इरानका इन्धन भण्डारमाथि हमला गरेमा विश्वभरको इन्धन सप्लाइमा असर पर्नेछ र यसले इन्धनको मूल्य बढाउनेछ । 

इरानले इजरायलमाथि हमला गरेको आशंका मात्र हुँदा पनि विश्व बजारमा इन्धनको मूल्य तीन प्रतिशले बढेको थियो । यसले पनि इरानी इन्धनको विश्व बजारमा कति महत्त्व छ भन्ने कुरा प्रमाणित गर्छ । 

इजरायलले इरानका इन्धन भण्डारलाई निसाना बनाएमा इन्धनको मूल्य आकाशिने निश्चित छ ।