इजरायली आक्रमणमा मारिएका हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रुपमा गाडियाे

लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रुपमा गाडिएको छ । इजरायलले आक्रमण गर्ने डरले गोप्य स्थानमा अस्थायी तबरले शव गाडिएको समूहनिकट स्रोतले शुक्रवार जनाएको छ ।   

‘परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रुपमा गाडिएको छ,’ स्रोतले भन्यो,  ‘इजरायली धम्कीले शोक मनाउनेहरू र उहाँलाई गाडिएको स्थललाई लक्षित गर्ने डरका कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव थियो ।’ 

शिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रुपमा गाडिने व्यवस्था छ ।

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको तर असफल भएको नाम नखुलाउने शर्तमा एक लेबनानी अधिकारीले बताए ।

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीका बीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहका साथै इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए । 

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यको हत्या गरेको बताएको थियो ।नसरल्लाह मारिएको एक सातापछि पनि उनको उत्तराधिकारी छैनन् । सम्भावित उत्तराधिकारीका रुपमा हेरिएका प्रमुख हिजबुल्लाह व्यक्ति उनका भाइ हाशेम सफिएद्दीन हालै दक्षिणी बेरुतमा भएको इजरायली हवाई आक्रमणको निशानामा रहेको अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले बताएका छन् ।