भारतीय विदेश मन्त्री एस जयशंकर पाकिस्तान जाने

भारतीय विदेश मन्त्री एस जयशंकर पाकिस्तान जाने भएका छन् । यही अक्टोबर १५ मा उनी पाकिस्तान जाने भएका हुन् । 

इस्लामाबादमा एससीओको काउन्सिल फर हेड्स अफ गभर्नमेन्ट (सीएचजी) को बैठकमा सहभागी हुन उनी पाकिस्तान जान लागेका हुन् । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार जयशंकर पाकिस्तान जाने जानकारी दिएका हुन् । 

विगत नौ वर्षको अवधिमा पाकिस्तान जाने जयशंकर पहिलो भारतीय मन्त्री हुनेछन् । जयसवालका अनुसार जयशंकरको यात्रा भारत–पाकिस्तानको यात्रा सम्बन्ध सुधार गर्ने प्रयास स्वरुप हुनेछ । 

यसबारे जयसवालले भारत एससीओको चार्टरलाई लिएर प्रतिबद्ध रहेको बताए । गत २९ अगस्तमा पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकका क्रममा पाकिस्तान आउन निम्ता दिएको थियो । पाकिस्तानकी विदेश विभागकी प्रवक्ता मुमताज जहरा बलोचले बैठकमा भाग लिनका लागि देशका प्रमुखलाई निम्ता गरेकी थिइन् । 

यसअघि सन् २०१५ मा भारतकी तत्कालीन विदेश मन्त्री सुषमा स्वराज पाकिस्तान गएकी थिइन् । त्यतिबेला प्रधानमन्त्री नवाज शरीफसँग कुराकानी गरेकी थिइन् ।