‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको आशङ्का नर्वे प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । ह्वेल अगस्ट ३१ मा नर्वेको दक्षिणपश्चिमी तटमा रहेको खाडीमा मृत फेला परेको थियो ।

पशु अधिकार सङ्गठन एनओएएच र वन ह्वेलले ह्वेललाई गोली हानेर मारिएको दाबी गर्दै प्रहरीमा रिपोर्ट दर्ता गरेका छन् ।ह्वलेका लागि नर्वेली शब्द (हवल) र मस्कोसँग यसको कथित सम्बन्धमा यसको उपनाम ‘ह्वाल्डिमिर’ राखिएको छ ।

नर्वेली पशु चिकित्सा संस्थानले शव परीक्षण गर्दा ह्वेलको मुखमा ३५ सेन्टिमिटरको काठको टुक्रा पेला पारेको थियो ।शव परीक्षणको रिपोर्टले मृत्युको सम्भावित कारण ब्याक्टेरिया सङ्क्रमण भनेको थियो ।  मुखमा काठको टुक्रा अड्किएकाले घाउ भई सङ्क्रमण भएको प्रहरी अधिकारी अमुन्ड प्रिडे रेभहेमले शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । काठको टुक्राले ह्वाल्डिमिरलाई खान गाह्रो बनाएको तथा सङ्क्रमणको जोखिम बढेको हुन सक्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले शव परीक्षणमा गोलीको कुनै निशान फेला नपरेकाले थप अनुसन्धान नगर्ने निर्णय गरेको जनाएको छ । परीक्षणमा ह्वाल्डिमिरलाई अवैध रूपमा मारिएको सङ्केत गर्ने केही प्रमाणहरु फेला नपरेको प्रिडे रेभहेमले बताउनुभयो । 
 
नर्वेका अधिकारीहरूले ह्वेल एउटा घेराबाट भागेर रूसी नौसेनाद्वारा प्रशिक्षित भएको हुनसक्ने बताएका छन् । ह्वेल ‘रूसी जासुस’ हुनसक्ने दाबीमा मस्कोले भने कुनै पनि आधिकारिक प्रतिक्रिया दिएको छैन ।