जापानका क्षेत्रीय विमानस्थलमा विस्फोटक सामग्री खोजी गरी सफा गरिने

जापानका क्षेत्रीय विमानस्थलमा नफुटेको अवस्थामा रहेका यस्ता विस्फोटक सामग्री सफा गर्ने जापानका यातायात मन्त्रीले शुक्रबार बताउनुभएको छ । 

जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सीवेमा विस्फोट भएपछि जापानले यो घोषणा गरेको हो । यो उपकरण बुधबार युद्धको समयमा जापानी आत्मघाती पाइलट (कामीकेज)हरूको लागि पूर्व आधार शिविर रहेको मियाजाकी विमानस्थलमा विस्फोट भएको थियो ।

एएफपीले प्राप्त गरेको फुटेजमा कम्तीमा १० मिटर (३० फिट) सम्म माटोको मुस्लो हावामा उडेकोे देखिएको छ ।घटनामा कोही पनि हताहत नभए पनि साँझसम्मका लागि उडान स्थगन गरिएको छ ।यातायात मन्त्री टेट्सुओ साइतोले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मियाजाकी विमानस्थल र अन्य विमानस्थलहरूमा चुम्बकीय साधनको प्रयोग गरी यस्ता खतरनाक वस्तु रहेको भेटिएमा खोजी गर्न सरकारले आदेश दिएको छ।” 

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार सुरुमा सेन्दाई, फुकुओका र नाहाको क्षेत्रीय व्यापारिक हबका विमानस्थलहरूमा खोजी केन्द्रित हुनेछ।स्थानीय सञ्चारमाध्यमका अनुसार युद्धकालमा जापानका कतिपय विमानस्थललाई सबै सैन्य सुविधाको लागि प्रयोग गरिएको थियो ।असाही शिम्बुनका अनुसार सन् २०११ यता मियाजाकीमा विमानस्थलको पार्किङ एप्रोनमा पुनरुत्थानको क्रममा फेला परेको एक टनको उपकरणसहित तीनवटा बम फेला परेका छन् । 

दर्जनौं ‘कामिकेज’ विमानलाई आत्मघाती मिशनहरूमा पठाएको मियाजाकी विमानस्थल सन् १९४३ मा एक शाही जापानी नौसेना बेसको रूपमा सुरु भएको थियो । सन् १९४५ मा नागासाकी र हिरोशिमामा आणविक बम विस्फोट हुनुअघि अमेरिकी वायु सेनाले जापानका दर्जनौं शहरमा भारी बमबारी गरेको थियो ।

मार्च १९४५ मा मात्र एक रातमा टोकियो र वरपरका क्षेत्रमा लगभग एक लाख नागरिकहरू मारिएका थिए।सेल्फ डिफेन्स फोर्सेजका अनुसार सन् २०२४ को अप्रिलसम्म जापानको सेनाले दुई हजार ३४८ वटा नफुटेका उपकरणहरू सुरक्षित रुपमा हटाएको थियो । यीमध्ये ४४१ ओकिनावाको दक्षिणी क्षेत्रमा रहेका थिए ।