निधनपछि पनि च्यानलमा लगातार भिडिओ अपलोड हुन्छन् : युट्युबर मिस्टर बिस्ट

 विश्वमा सबैभन्दा बढी सब्सक्राइबर पाएका युट्युबर मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले आफ्नो निधनपछि पनि च्यानलमा लगातार भिडिओ अपलोड हुने खुलासा गरेका छन् । 

केएसआई र लोगन पलको इम्पल्सिभ पोडकास्टमा यसका लागि पहिल्यै १५ ओटा भिडिओ आफूले बनाइसकेको मिस्ट बिस्टले खुलाएका हुन् । 

कुराकानी दौरान केएसआईले अर्का चर्चित युट्युबर निकोकाडो अवोकाडो (निकोल पेरी)को नाम लिँदै ‘तिमीले पनि त्यस्तै गर्छौ जस्तो लाग्छ’ भनेर जिज्ञासा राखेका थिए । लगत्तै मिस्टर बिस्टले आफ्नो मृत्युपछि टिमले उनी देखिने गरी १५ ओटा भिडिओ अपलोड गर्न अहिले नै रेकर्ड गरिसकेको खुलासा गरेका हुन् ।

यसअघि गुपचुप तरिकाले तौल घटाइरहँदा निकोकाडो अवोकाडोले दुई वर्षसम्म इन्टरनेटमा प्र्याङ्क गरेका थिए । मिस्टर बिस्टका अनुसार उनको मृत्युपछि अपलोड हुने भिडिओ पुरानो कम्प्युटरमा सुरक्षित छन् । यसबारे उनी सहित कम्पनीका केही व्यक्तिहरूलाई मात्र थाहा छ । यद्यपि ती भिडिओहरू आजभोलिको जस्तो स्तरीय नहुने उनले बताएका छन् ।

“केही भिडिओहरू खासै राम्रो छैनन् । एउटा भिडिओमा त म टेबलमा बसेर पुरानो फ्यान मेल (प्रशंसकले पठाएका पत्र) खोलिरहेको छु,” उनले भनेका छन् ।

त्यस्तै ‘मेरो अन्तिम भिडिओ’ शीर्षकमा समेत एउटा भिडिओ अपलोड हुने उनले खुलाएका छन् । ती सबै भिडिओहरू हरेक महिना एकएक गरेर अपलोड हुने उनले सुनाएका छन् । दर्शकलाई अझै पनि आफू जीवित भएको भान पार्न यस्तो गर्ने मिस्टर बिस्टले कारण दिएका छन् ।