इजरायली र हेजबुल्लाहबीच युद्ध : २४ घण्टामा २८ स्वास्थ्यकर्मी मारिए

हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ । 

युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट भागेका थिए ।

त्यस्तै, लेबनानको राजधानी बेरुतमा आईडीएफले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ९ सर्वसाधारण मारिएका बीबीसीले जनाएको छ । आईडीएफले कम्तीमा १५ हेजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।

मारुन अल–रासमा हजेबुल्लाहले इजरायली सेनालाई लक्षित गर्दै बम विस्फोट गराएको छ भने इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । आईडीएफले बिहीबार हेजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ । त्यस्तै, हेजबुल्लाहले बेरुतस्थित आफ्नो सञ्चार कार्यालयमा आक्रमण भएको जनाएको छ ।

आईडीएफले दक्षिणी लेबनानका स्थानीयलाई अन्यत्र जान चेतावनीसमेत दिएको छ । ‘तपाईं र तपाईंका सन्तानको सुरक्षाका लागि अर्को सूचना नभएसम्म आफ्नो घरमा नजानुहोला,’ आईडीएफले टेलिग्राममार्फत जारी सूचनामा लेखिएको छ ।

इजरायली सेनाले दुई सातायता गरेका आक्रमणमा कम्तीमा हजार सर्वसाधारणको ज्यान गइसकेको छ । दक्षिणी लेबनान र बेका क्षेत्रबाट कम्तीमा १० लाख सर्वसाधारण विस्थापित भइसकेका छन् ।

सन् २०२३ को अक्टुबर ७ यता इजरायलले लेबनानमा गरेको आक्रमणमा १ हजार ९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये कम्तीमा १ सय २७ जना बालबालिका छन् । ९ हजार ३ सय ८४ जना घाइते भएका जनाइएको छ ।