नर्डिक्समा इजरायली दूतावासमा भएको आक्रमणमा इरानको भूमिका हुनसक्छ– स्विडिश गुप्तचर

यस साता स्विडेन र डेनमार्कमा इजरायली दूतावास वरपर भएका विस्फोट र गोलीबारीमा इरानको संलग्नता हुनसक्ने स्विडिश गुप्तचर एजेन्सी सापोले बिहीबार बताएको छ । 

डेनमार्कमा प्रहरीले बुधबार कोपेनहेगनमा इजरायली दूतावासनजिक दुई विस्फोट सम्भवतः ह्यान्ड ग्रेनेडले गराएको र पछि तीन स्विडिश नागरिकलाई पक्राउ गरिएको बताएको छ । 

स्विडिश प्रहरीका अनुसार मङ्गलबार स्टकहोममा इजरायली दूतावासमा गोली प्रहार गरिएको थियो । “केही कुरा छन् जसले त्यस दिशातर्फ सङ्केत गर्नसक्छ”, इरानसँगको सम्बन्धका बारेमा रिपोर्टबारे सोधिएको प्रश्नमा सापो एजेन्सीका सञ्चालन प्रमुख फ्रेड्रिक हल्स्ट्रोमले पत्रकार सम्मेलनमा भन्नुभयो, “आंशिक रूपमा लक्ष्यहरूको छनोट र कार्यशैलीका कारण त्यो शुद्ध ज्ञानभन्दा पनि एउटा अनुमान हो ।”

इरानले स्विडेनमा इजरायली र अन्य हितहरू विरुद्ध ‘हिंसात्मक कार्यहरू’ गर्न स्विडिश आपराधिक गिरोहका सदस्यहरूलाई भर्ती गरिरहेको मे महिनामा सापोले भनेको थियो । उक्त दाबीलाई इरानले अस्वीकार गरेको थियो । दुई दूतावासमा भएका पछिल्ला आक्रमणहरू स्विडिश आपराधिक नेटवर्क फक्सट्रोटले इरानको आदेशमा गराएको जानकारी प्राप्त गरेको स्विडिश प्रसारक एसभिटीले बुधबार बताएको थियो ।
    
डेनिश अदालतले पक्राउ गरिएका १६ र १९ वर्ष उमेरका दुई स्विडिश नागरिकलाई २७ दिनका लागि हिरासतमा राखिएको बिहीबार बताएको छ । कोपेनहेगन प्रहरीले अपराध स्थलनजिक पक्राउ परेका तेस्रो स्विडिश नागरिकलाई रिहा गरिएको बताएको छ । 

सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता स्विडेनमा इजरायली हितहरूलाई लक्षित गरेको देखिने धेरै घटना रिपोर्ट गरिएका छन् । फेब्रुअरीमा प्रहरीले इजरायली दूतावास परिसरमा एउटा ग्रेनेड फेला पारेको थियो । यसलाई राजदूतले आक्रमणको प्रयास भन्नुभएको थियो । मे महिनामा इजरायली दूतावासबाहिर गोली चलाइएको थियो । यसले इजरायली हितहरू र यहुदी समुदायका संस्थावरपर सुरक्षा उपायहरू बढाउन प्रेरित गरेको थियो ।