इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

सिरियामा रहेको रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको यसै साताको सुरुमा दमास्कसमा भएको इजरायली आक्रमणमा चोट लागेपछि बिहीबार निधन भएको इरानी सञ्चारमाध्यमले बताएको छ ।

सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले बतायो ।सिरियाका साथै लेबनानमा हालैका इजरायली आक्रमणहरूमा आफ्नो पङ्क्तिमा धेरै मृत्युको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्र्सले दिवानीको मृत्युको पुष्टि गरेको छैन । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स युद्ध अनुगमनकर्ताका अनुसार मङ्गलबार दमास्कस क्षेत्रलाई लक्षित गरी भएको इजरायली आक्रमणमा तीन सर्वसाधारण र तीन इरान समर्थित लडाकूसहित कम्तीमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता इजरायलले सिरियामा धेरै आक्रमण गरेको छ र विशेषगरी सेनाको चौकीहरू र इरान समर्थित लडाकूहरूलाई लक्षित गरेको छ । इजरायली अधिकारीहरूले सिरियामा भएका व्यक्तिगत आक्रमणहरूबारे बिरलै टिप्पणी गरेको भए पनि उनीहरूले सिरियामा इरानको उपस्थिति विस्तार रोक्ने बारम्बार वाचा गरेका छन् । 

सिरियाली राष्ट्रपति बशर अल–असदको नजिकको सहयोगी इरानले भने सिरियामा आफ्नो लडाकू सेना नभएको बरु सैन्य सल्लाह र प्रशिक्षण प्रदान गर्ने अधिकृतहरू मात्र रहेको बताएको छ । इजरायललाई जिम्मेबार ठहर गरिएको शृङ्खलाबद्ध आक्रमणहरूपछि इरानले सिरियामा आफ्नो सैन्य उपस्थिति घटाएको बेलायतस्थित सिरियन अब्जर्भेटरीले अप्रिलमा बताएको थियो । 

अप्रिलमै भएको एक आक्रमणमा दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासलाई लक्षित गर्दा दुई जनरलसहित सात रिभोल्युसनरी गार्ड मारिएका थिए । त्यसपछि इरानले अप्रिल १३ र १४ मा इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमण गर्दै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्यो । 

यस साता तेहरान समर्थित लडाकू नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रहरूसहित दोस्रो पटक आक्रमण गर्यो ।