अभिनेता म्याथ्यु पेरीको मृत्युको घटनामा डाक्टरले आफूमाथि लगाइएका आरोप स्वीकारे

अभिनेता म्याथ्यु पेरीको लागुऔषधसम्बन्धी मृत्युको घटनामा उनका डाक्टरले आफूमाथि लगाइएका आरोप स्वीकार गरेका छन् ।

लस एन्जल्सको अदालतमा डा.मार्क चाभेजले पेरीलाई षडयन्त्रपूर्वक सर्जिकल एनेस्थेटिक केटामिन दिएको आरोप स्वीकार गरेका हुन् । ५४ वर्षीय चाभेजको केटामिन क्लिनिक रहेको छ । 

उनले पेरीको हेरचार गरिरहेका डा.साल्भाडोर प्लासेन्सियालाई उक्त औषधि बिक्री गरेका थिए । एनबीसीको चर्चित सिरिज फ्रेन्ड्सका अभिनेताको मृत्युको मामिलामा चाभेजसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

५४ वर्षीय अभिनेता सन् २०२३ को अक्टोबरमा दक्षिणी क्यालिफोर्नियामा रहेको घरको जकुजीमा मृत फेला परेका थिए । पोस्टमार्टममा उनको रगतमा अधिक मात्रामा केटामिन पाइएको थियो । यसैको प्रभावका कारण पेरीको मृत्यु भएको पोस्टमार्टममा बताइएको थियो ।