बेलायती जेटहरूले इजरायलको रक्षामा ‘आफ्नो भूमिका निभाए’– बेलायत

बेलायती सरकारले बुधबार इरानले इजरायलमाथि मिसाइलहरू प्रहार गरेपछि बेलायती सशस्त्र बलहरूले ‘थप प्रहार रोक्ने प्रयासमा आफ्नो भूमिका निभाएको’ बताएको छ । 

इजरायलको समर्थन गर्ने अभियानमा मङ्गलबार राति रोयल एयर फोर्सका दुई टाइफुन जेट र एक भोयाजर एयर–टु–एयर रिफ्युलिङ ट्याङ्कर संलग्न भएको रक्षा मन्त्रालयको वक्तव्यमा उल्लेख छ । 

“यो आक्रमणको प्रकृतिका कारण तिनीहरूले कुनै लक्ष्यलाई निशाना बनाएनन् तर तिनीहरूले व्यापक प्रतिरोध र थप वृद्धिलाई रोक्ने प्रयासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे”, वक्तव्यमा भनिएको छ । इरानले पछिल्लो पटक अप्रिलमा इजरायलमाथि मिसाइल र ड्रोनहरूले आक्रमण गर्दा बेलायतले यस्तै भूमिका निर्वाह गरेको थियो । त्यतिबेला रोयल एयर फोर्सका जेटहरूले केही ड्रोन खसाल्न सहयोग गरेका थिए । 

रक्षामन्त्री जोन हिलीले मङ्गलबार एक वक्तव्य जारी गर्दै इरानको पछिल्लो कार्यहरूको निन्दा गर्नुभयो । “बेलायती सेनाले आज साँझ मध्यपूर्वमा थप तनाव रोक्ने प्रयासमा आफ्नो भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “बेलायत आफ्नो देश र जनतालाई खतराबाट बचाउने इजरायलको अधिकारको पूर्ण समर्थनमा उभिएको छ ।”

बुधबार हिलीले बेलायतका प्रमुख सैन्य अड्डा रहेको साइप्रसको भ्रमण गर्नुभयो र लेबनानबाट बेलायती नागरिकहरूलाई निकाल्ने सम्भावनाका लागि तयारी गरिरहेका बेलायती सैनिकहरूसँग भेट गर्नुभयो । इजरायलले लेबनानविरुद्ध स्थल आक्रमण सुरु गरेपछि सम्भावित निकासीको तयारीका लागि सयौँ बेलायती सैनिकहरू टापूमा तैनाथ गरिएका छन् । 

लडाइँका कारण बेरुतको विमानस्थल बन्द हुनसक्ने सम्भावनाका लागि बेलायतले सम्भावित निकासीको योजना बनाइरहेको छ । 

बेलायती विदेशमन्त्री डेभिड लामीले लेबनानबाट बेलायती नागरिकहरूलाई लिएर जाने पहिलो चार्टर उडानले ‘अब प्रस्थान गरेको’ बुधबार पुष्टि गर्नुभयो । “हामीले भोलि बिहीबारका लागि अर्कै उडानको व्यवस्था गरेका छौँ र आगामी दिनहरूमा भाग भएसम्म र सुरक्षित हुँदासम्म थप उडानहरू गर्नेछौँ”, उहाँले एक्समा लेख्नुभएको छ । 

उहाँले लेबनानमा अझै रहेक बेलायती नागरिकहरूलाई बेलायती विदेश मन्त्रालयमा दर्ता गर्न र ‘तुरुन्तै देश छाड्न’ आग्रह गर्नुभयो ।