इरानले किन मिसाइल आक्रमणको आदेश दियो ?

काठमाडौँ, १७ असोजः इरानबाट भएको व्यापक मिसाइल आक्रमणको जवाफ दिने इजरेलको प्रतिज्ञाले पूर्ण क्षेत्रीय युद्ध रोक्ने उपायहरूका लागि कूटनीतिज्ञहरूको छटपटीलाई बढाएको छ ।एएफपीले इरानको गणना, इजरेलको विकल्प र तनाव बढ्ने आशङ्काबारे पाँच विशेषज्ञसँग कुराकानी गरेको छ । 

इरानले किन मिसाइल आक्रमणको आदेश दियो ?
इरानले गत वर्षभर इजरेलद्वारा गरिएका अपमानहरूको शृङ्खलाको सामना गरेको मानिएको छ । यसले मध्यपूर्वभर सहयोगीहरू बनाउने उसको रणनीतिलाई विफल बनाएको छ । 

‘प्रतिरोध धुरी’ भनेर चिनिने इरान समर्थित गठबन्धनमा प्यालेस्टिनी समूह हमास, लेबनानमा हिजबुल्लाह, यमनका हुथी विद्रोहीहरू तथा इराक र सिरियामा अन्य शिया मुस्लिम सशस्त्र समूहहरू संलग्न छन् । 

हमासले अभूतपूर्व आक्रमण गरेपछि इजरेलले गत अक्टोबरदेखि गाजामा हमासविरुद्ध आक्रमण जारी राखेको छ । हमासका राजनीतिक नेता इस्माइल हानियाको जुलाईमा तेहरानमा हत्या गरिएको थियो । 

लेबनानमा पेजर विस्फोट र हवाई आक्रमणले हिजबुल्लाहरूलाई गम्भीर रूपमा कमजोर बनाएको छ । एक इरानी जनरलसहित हिजबुल्लाहका नेता हसन नसरल्लाहको गत साता बेरुतको उपनगरमा इजराली मिसाइल आक्रमणमा मृत्यु भएको थियो । 

अप्रिलमा सिरियाको राजधानी दमास्कसमा इरानको वाणिज्य दूतावासमा इजरेली आक्रमण भएपछि तेहरानले पहिलो पटक जवाफी कारवाही गर्दै इजरेलमाथि तीन सय मिसाइल र ड्रोन प्रहार गरेको थियो । तीमध्ये करिब सबैलाई रोकिएको थियो । 

इरानमा काम गरेको इतिहास भएका अमेरिकी सैन्य गुप्तचर अनुभवी के. क्याम्पबेलका अनुसार मङ्गलबारको आक्रमणमा थप दुई सय मिसाइल प्रहार भए । तर पनि सैन्य प्रभाव कम भयो र यसको अर्थ ती मूलतः ‘प्रतिकात्मक’ थिए ।

“सबै हवाई सुरक्षा प्रणालीमा संतृप्ति विन्दु हुन्छ र इरान जानीजानी इजरेली हवाई सुरक्षा संतृप्ति विन्दुभन्दा तल रहेको देखिन्छ”, क्याम्पबेलले भने ।

वासिङ्टनस्थित थिङ्क–ट्याङ्क सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका मध्यपूर्व विशेषज्ञ जोन अल्टरम्यानले भने, “इरानले ठूलो क्षेत्रीय युद्ध चाहन्छ जस्तो मलाई लाग्दैन ।”

इजरेलले कस्तो प्रतिक्रिया दिन सक्छ ?
इजरेल र यहुदी विरोधी भावनाबारे पुस्तक लेखेका लेखक तथा राजनीतिक विश्लेषक जेम्स डेमिन–डे लिसेले इजरेलले आफ्नो फाइदालाई थप बढाउन प्रयास गर्नसक्ने बताए ।

“आफ्ना प्रतिनिधिहरू नष्ट भएकाले इरान अहिले पूर्ण रूपमा कमजोर भएको छ”, उनले भने, “हामीले अब एउटा निकै नाटकीय शक्ति परिवर्तन भएको देख्न लागेका छौँ, यस मामिलामा हामीले इजरेलले इस्लामिक शासन ढाल्ने आशाका साथ इरानविरुद्ध निर्णायक आक्रमण गरेको देख्नेछाँै जस्तो मलाई लाग्छ ।”

इजरेलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले बुधबार इरानका आणविक सुविधाहरूमा अझ लक्षित सैन्य आक्रमण गर्नुपर्ने तर्क गरे । 

यद्यपि इजरेल पहिला नै गाजा र दक्षिणी लेबनानसहित दुई मोर्चामा लडिरहेको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ४१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने दक्षिणी लेबनानमा इजरेली सेनाले मङ्गलबार हिजबुल्लाहलाई लक्षित गर्न स्थल अभियान सुरु गरेको थियो । 

तेस्रो युद्ध भड्किने जोखिम छ ?
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अल्टरम्यानले भने, “इजरेलले पछिल्लो दुई सातामा धेरै सफलता हासिल गरेको छ र यसलाई उनीहरू जोखिममा पार्न चाहँदैनन् ।” उनले इजरेलले ‘लाभ सुरक्षित गर्ने वा परिणाम दिइरहेको रणनीतिमा दोब्बर गर्ने भन्ने दुई प्रवृत्तिबीच रोज्नुपर्ने’ बताए । 

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार मध्यपूर्वबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने तय गरेको छ । तथापि राष्ट्रसङ्घलाई व्यापक रूपमा अप्रभावकारी र विभाजित मानिन्छ । 

इजरेलमाथि सम्भावित प्रभाव राख्ने एकमात्र विदेशी शक्ति संयुक्त राज्य अमेरिका भए पनि राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूसँग सापेक्ष भाव मात्र भएको देखाएको छ । 

नसरल्लाहको हत्याको भोलिपल्ट वक्तव्य जारी गर्दै बाइडेनले ‘हिजबुल्लाह, हमास, हुथी र अन्य कुनै पनि इरान समर्थित आतङ्कवादी समूहहरू विरुद्ध आफ्नो रक्षा गर्ने इजरेलको अधिकार’ का लागि अमेरिकी समर्थन दोहोर्याए । 

यद्यपि उनले गाजामा युद्धविरामका लागि दबाब पनि दिइरहनुभएको छ र लेबनानमा कुनै पनि इजरेली स्थल आक्रमणको विरोधमा आफू रहेको घोषणा गरेका छन् । तथापि त्यो व्यर्थ भयो ।

इजरेली राजनीतिक विश्लेषक तथा पूर्व पत्रिका सम्पादक जोर्डन बार्किनले भने, “राष्ट्रपति बाइडेनले सम्भवतः वार्ता गर्न हस्तक्षेप गर्नुहुनेछ तर उनको प्रभाव धेरै हुनेछ भन्नेमा मलाई शङ्का छ ।”

अमेरिकाको इरानसँग प्रत्यक्ष सम्बन्धको अभाव छ । यसको अर्थ तनाव कम गर्न कुनै पनि कूटनीतिक कदमका लागि युरोपेली वा मध्यपपूर्वी संलग्नता आवश्यक हुनेछ । 

“सबै कुरा इजरेली प्रतिक्रियामा निर्भर हुनेछ र सबै कुरा अमेरिकी प्रशासनको सल्लाह तथा प्रयासहरूमा निर्भर हुनेछ, यस समयमा उनीहरूको युद्धमा फस्ने कुनै चासो छैन”, जेनेभास्थित अरब तथा भूमध्यसागरीय विश्व अध्ययन तथा अनुसन्धान केन्द्रका निर्देशक हस्नी आबिदीले भने ।