‘चाहिँदैन मलाई सिसाको महल...’

‘चाहिँदैन मलाई सुनको दरबार
चाहिँदैन मलाई हिरामोती हार
यसै राम्रो छ मेरो पैदल यात्रा
चाहिँदैन मलाई टल्कने कार...’

जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए, कतिले नाचेर साथ दिए । बुधबार सन्ध्यापख जनगायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहको मञ्चमा उभ्याएपछिको माहोल यस्तै थियो । उहाँले ‘चाहिँदैन मलाई सिसाको महल...’, ‘सिमली छायाँमा बसी...’ लगायत आफ्ना चर्चित सुनाउनुभयो । 

वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो...’ बाट गाउन सुरु गर्नुभएका शर्माले पूरा अवधि दर्शकको मन जितिरहनुभयो । गायन प्रस्तुति सँगसँगै उहाँले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसङ्ग उप्काउन भ्याउनुभयो । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार...’ गीत जन्मिएको सुनाउनुभयो ।

“भ्रष्टाचार गरेर ठुल्ठूला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुनसकेको छैन, अहिले पनि अवस्था उस्तै छ”, शर्माले भन्नुभयो । उहाँले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरूका प्रति भने आफूले सधैँ सम्मान गर्ने बताउनुभयो । “राम्रो घर, गाडी त श्रमिक र मजदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ”, उहाँले भन्नुभयो । 

उहाँले सुशासन र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणका लागि सांस्कृतिक फाँटबाट आफूहरूले सधँै राज्यलाई घच्घच्याइरहेको बताउनुभयो । शर्माले नेपालको जनसांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले पुनःजागृत गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो । उहाँले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी...’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए ।

उक्त विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरेका थिए । न्याय, मुक्ति र समानताका पक्षमा कलाकारहरूले स्वर भरे । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जन बढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।

कार्यक्रममा थारू समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्...’, गायिका सुशीला थापा र उदय रिजालले ‘पूर्व क्षितिज...’ लगायत गीत सनाउनुभएका थियो ।

व्यवस्था फेर्न जनताले बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले परिवर्तनका गीत गाउँदै हिँड्नु परिरहेको र समाजमा अहिले पनि विभेद तथा शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको कलाकारहरूको कथन थियो ।

देशमा देखिएका बेथिति, विसङ्गति, भ्रष्टाचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरणका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।