सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल

काठमाडौँ, १६ असोज : बाढीपहिरोले अवरुद्ध सडक मर्मतगरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

मन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार चाडपर्वको बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माणगरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न स्थान मर्मतका लागि आवश्यकपरे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीच छलफल भएको हो । 

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो । सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालनगरी सवारी आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ ।