इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा

इजरायलले आफ्नो मुलुकमाथि इरानको क्षेप्यास्त्र आक्रमणको विशेष रूपमा निन्दा गर्न असफल भएको आरोप लगाउँदै बुधबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको छ । 

“जो कोहीले पनि इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न सक्तैन, ऊ इजरायली भूमिमा पाइला टेक्न योग्य छैन”, विदेशमन्त्री इजरायल काट्जले एक वक्तव्यमा भन्नुभयो, “उहाँ आतङ्कवादी, बलात्कारी र हत्यारालाई समर्थन गर्ने इजरायलविरोधी महासचिव हुनुहुन्छ ।”

काट्जका अनुसार गुटेरेसले हमास, हिजबुल्लाह, हुथी र अब विश्वव्यापी आतङ्कवादको मातृशक्ति इरानका हत्याराहरूलाई समर्थन गर्नुहुन्छ र आउने पुस्तासम्म संयुक्त राष्ट्रसङ्घको इतिहासमा उहाँलाई एउटा दागका रूपमा सम्झिइनेछ ।

मङ्गलबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्दै यस क्षेत्रमा ‘एकपछि अर्को बढ्दो द्वन्द्व’ को आलोचना गर्नुभयो । “यो रोक्नै पर्छ, हामीलाई पूर्ण रूपमा युद्धविरामको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

इजरायल संयुक्त राष्ट्रसङ्घको कडा आलोचक रहँदै आएको छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र राष्ट्रसङ्घबीचको सम्बन्ध झन बिग्रिएको छ । 

गुटेरेसले गाजा र लेबनान दुवैमा लडाइँ रोक्न युद्धविरामका लागि बारम्बार आह्वान गर्नुभएको छ ।