चीनको विश्वकै सबैभन्दा ठूलो सिंगल-डिस रेडियो टेलिस्कोपको आकार र क्षमता बढाइँदै

चीनले विश्वकै सबैभन्दा ठूलो सिंगल-डिस रेडियो टेलिस्कोपको क्षमता सुधार गर्न दोस्रो चरणको निर्माण सुरु गरेको छ। दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको कार्स्ट क्षेत्रमा अवस्थित फाइभ हण्ड्रेड मिटर अपर्चर स्फिअरिकल टेलिकस्कोप एफएएस्टी जनवरी सन् २०२० देखि सञ्चालनमा छ।

तर अब दोस्रो चरणमा १३१ फिट (४० मिटर) व्यासका २४ नयाँ चलायमान रेडियो टेलिस्कोपहरू थपिने छन्। यो निर्माण औपचारिक रूपमा सेप्टेम्बर २५ मा (एफएएस्टी)को निर्माण सम्पन्न भएको आठौं वार्षिकोत्सवमा सुरु भएको थियो।

चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)का अनुसार, फास्ट कोर एरे नामको यो विस्तारले टेलिस्कोपको चारैतिर ३-माइल (५ किलोमिटर)को दायरामा रहेको “शान्त” इलेक्ट्रोम्याग्नेटिक वातावरणको उपयोग गर्ने उद्देश्य राखेको छ।

यस स्थानलाई यसको टाढाको स्थान र प्राकृतिक भौगोलिक संरचनाका कारणले छनोट गरिएको थियो। जब यी नयाँ टेलिस्कोपहरू एकसाथ जोडिन्छन्, तिनीहरूले रिजोल्युसन र पत्ता लगाउने क्षमतामा सुधार ल्याउने स्पेस डटकमले उल्लेख गरेको छ।

यस योजनाले वैज्ञानिकहरूलाई विभिन्न क्षेत्रमा गहिरो अनुसन्धान गर्न सक्षम बनाउने उद्देश्य राखेको छ, जसमा गुरुत्वाकर्षण तरंग घटनाहरू, तीव्र रेडियो विस्फोटहरू, सुपरनोभा, र ब्ल्याक होल टाइडल डिसरप्शन घटनाहरू समावेश छन्।

एरेसम्बन्धी कागजातका अनुसार, यसले अन्तरिक्ष स्थितिको जानकारी, सौर्यमण्डलका साना वस्तुहरूको पत्ता लगाउने, गहिरो अन्तरिक्षमा पठाइएका मिसनहरूको सञ्चार र नियन्त्रण लगायतका क्षेत्रमा पनि योगदान पुर्‍याउनेछ।

फास्ट सन् २०१६ मा निर्माण सम्पन्न भएको थियो र सन् २०२० को सुरुदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। हालसम्म यसले ९ सयभन्दा बढी पल्सर अर्थात् तीव्र गतिमा घुम्ने न्युट्रोन ताराहरू पत्ता लगाइसकेको छ।

यो विशाल सुविधा सन् २०२१ को सुरुदेखि अन्तर्राष्ट्रिय वैज्ञानिकहरू र टोलीहरूका अनुसन्धान अनुरोधहरूका लागि खुला गरिएको छ।