इजरायलद्वारा एक वर्षमा गाजाका १७ हजार महिला तथा बालबालिकाको हत्या

 अक्सफामले गरेको नयाँ अध्ययनले बितेको दुई दशकमा विश्वमा भएका युद्धहरूमा इजरायली सेनाले एकै वर्ष सबैभन्दा बढी बालबालिका तथा महिला मारेको देखाएको छ । इजरायली सेनाले पछिल्लो १२ महिनामा गाजामा घेराबन्दी र बमबारी गरी ठूलो संख्यामा बालबालिका तथा महिला मारेको अध्ययनको दाबी छ ।

अक्सफामका अनुसार, पछिल्लो एक वर्षमा इजरायलले हमासविरुद्धको युद्धको नाममा गााजमा ११ हजार बालबालिका र ६ हजार भन्दा बढी महिलाको मारेको छ । यसअघि, सन् २००४ देखि २०२१ सम्म भएका युद्धमध्ये सन् २०१६ मा एकैवर्ष इराकमा दुई हजार ६०० महिला मारिएका थिए । 

यसअघि, सिरिया युद्धको पहिलो ३० महिनामा ११ हजारभन्दा बढी बालाबालिका मारिएका थिए । सिरिया युद्धमा एक वर्षमा औसत चार हजार ७०० भन्दा बढीको मृत्यु भएको थियो । 

विगत १८ वर्षमा बालबालिका र सशस्त्र द्वन्द्वसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले १२ महिनामा अन्य कुनै पनि द्वन्द्वले यति ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको देखाएको छैन । "यी चकित पार्ने तथ्यांकहरू डरलाग्दो र हृदयविदारक छन्," अक्सफ्यामको मध्यपूर्व र उत्तर अफ्रिका निर्देशक सेली अबी खलिलले भनेकी छन् ।  

अन्तर्राष्ट्रिय प्रभावशाली नेताहरू इजरायललाई उत्तरदायी बनान असफल भएको आरोप उनले लगाएकी छन् । नि:सर्त इजरायललाई हतियारको आपूर्ति जारी राखेर उनीहरू अत्याचारमा पनि संलग्न भएको उनले बताएकी छन् ।