बाढीपहिरो पीडितलाई राहत रकम वितरण सुरु

काठमाडौँ १५ असोजः  प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो । क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्का पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गर्नुभएको प्रेस विज्ञप्तिमा विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण  गरिएको उल्लेख छ ।

बाढीपहिराबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।