शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौँ, १५ असोज : जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापनको  प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । 

नवनिर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताउनुभएको छ । 

एलडिपीको बहुमत रहेको जापानी संसदले मङ्गलबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधबार नयाँ मन्त्रीपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको  छ । 

पूर्व मुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

इसिबाको जितले “एलडिपीले अर्को राष्ट्रिय चुनावमा पार्टीलाई नेतृत्व गर्न मतदाताको अपिल भएको अनुभवी नेताको खोजी गरेको सङ्केत गरेको सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युको नाकानोले बताउनु भएको छ । 

सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताउनुभएको छ ।