‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’

 काठमाडौँ, १४ असोज : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताउनुभएको छ ।  
 
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले वडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरूले बदलिँदो परिवेशमा सक्षम एवं कुशल पत्रकार बन्नका लागि आधुनिक सूचना प्रविधिसहित पत्रकारितासम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।    
 
सो अवसरमा त्रिभूवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र विभागका कामु डिन दुबिनन्द ढकालले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेवारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताउनुभयो ।  
 
त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा विभागमा अध्ययनरत चौथो सेमेस्टरका विद्यार्थीको विदाइसमेत गरिएको थियो । त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।