लेबनानबाट सिरियातर्फ एक लाख शरणार्थी प्रस्थान

इजरायलले पछिल्ला केही दिनयता लेबनानी हिजबुल्लाह समूह लक्षित गरेका लगातारका हवाई आक्रमणका कारण करिब एक लाख व्यक्ति लेबनानबाट सिरियातर्फ भागेका संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले सोमबार बताउनुभएको छ । उहाँका अनुसार यो सङ्ख्या दुई दिनमा बढेर दोब्बर भएको छ ।  

उहाँले सामाजिक सञ्जाल एक्समार्फत द्वन्द्व प्रभावित भई लेबनानबाट सिरिया प्रवेश गर्ने मानिसहरूको सङ्ख्या उल्लेख गर्नुभएको हो । विस्थापित हुने क्रम निरन्तर जारी छ ।  

उहाँले उक्त स्थानमा संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (युएनएचसीआर) ले “नयाँ आगमनलाई सहयोग गर्न स्थानीय अधिकारी र सिरियाली रेड क्रिसेन्ट सँगसँगै सीमाक्षेत्रका विभिन्न चार केन्द्रमा उद्धारकर्मी परिचालन गरेको छ । युएनएचसीआरले एक हप्ता अघिदेखि शनिबारसम्ममा लेबनानबाट सिरियातर्फ विस्थापितहरूको व्यापक भीड लागेको छ । 

इजरायलले पछिल्लो समयमा इरानको क्षेत्रीय सहयोगी हिजबुल्लाहलाई लक्षित गर्दै लेबनान र गाजा पट्टीलाई समावेश गर्न आफ्नो आक्रमण विस्तार गरेको छ ।लेबनानमा हिजबुल्लाहका लक्ष्यहरूमा गरिएको आक्रमणमा शुक्रबार यसका नेता हसन नसरल्लाहको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्तामा इजरायली बमबारीले लेबनानमा दुई दिनको अवधिमा १४ जना प्यारामेडिक्ससहित ७०० भन्दा बढीको ज्यान गएको छ ।

युएनएचसीआरका अनुसार शुक्रबारसम्म ३० हजार मानिसहरू सिरियामा प्रवेश गरिसकेका थिए । सिरियामा युएनएचसीआरका प्रतिनिधि गोन्जालो वर्गास लोसाले  विस्थापित हुनेमा करिब ८० प्रतिशत सिरियाली र २० प्रतिशत लेबनानी नागरिक रहेको बताउनुभएको छ ।  उहाँका अनुसार उनीहरु मध्ये ‘अधिकांश महिला तथा बालबालिका’ रहेका छन् ।

 निरन्तरको युद्ध र बम विस्फोटबाट भागेका मानिसहरू थकित, तथा सहायताको अभावको सामना गर्दै  सिरिया आइपुगेको बताउदै उनीहरुलाई सहयोगको आवाश्यकता रहेको उल्लेख गर्नु भएको छ ।