टेस्ट क्रिकेटमा भारतीय टोलीकाे एकै दिन लगातार दुई कीर्तिमान

बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले लगातार दुई कीर्तिमान बनाएको छ । कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन सोमबार भारतले टेस्टमा सबैभन्दा छिटो अर्धसतक र सबैभन्दा छिटो सतकको कीर्तिमान बनाएको हो ।

भ्रमणकारी टोली बंगलादेश आफ्नो पहिलो पालीमा दुई सय ३३ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि जवाफी ब्याटिङमा ओर्लिएको भारतले आक्रामक ब्याटिङ गर्दै केवल तीन ओभरमै ५० रन बनाएको थियो ।

भारतले तीन ओभरमा ५० रन बटुल्दै पहिलो कीर्तिमान बनाएको थियो । यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्ष पहिले वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । अहिले भारतले त्यही कीर्तिमान तोडेको हो ।भारतका लागि कप्तान रोहित शर्मा र यशस्वी जैसवालले अत्यन्तै आक्रामक ब्याटिङ गर्दै केवल तीन ओभरमा ५० रन बनाएका हुन् । रोहितले केवल ६ बलमा १९ रन र यशस्वीले १३ बलमा ३० रन बनाएका थिए ।

त्यसलगत्तै भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो सतकको कीर्तिमान पनि बनायो । भारतले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै केवल १०.१ ओभर (६१ बल) मा एक सय रन बनायो । यसअघि पनि यो कीर्तिमान भारतकै नाममा थियो ।

भारतले यसअघि सन् २०२३ मा पोर्ट अफ स्पेनमा खेलिएको वेस्ट इन्डिजविरुद्धको टेस्टमा १२.२ ओभरमा एक सय रन बनाएको थियो । त्यसअघि सन् २००१ मा श्रीलंकाले कोलम्बोमा खेलिएको बंगलादेशविरुद्धको टेस्टमा १३.१ ओभरमा एक सय रन बनाएको थियो ।