चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका लागि अनिवार्य सैन्य तालिमसम्बन्धी व्यवस्था गर्न लागेको खुलेको छ ।

चीनले अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने योजना अघि सारेको हो । चिनियाँ राष्ट्रिय जनकांग्रेसले यसबारे कानुन संशोधन गर्ने तयारी गरेको छ ।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ प्रावधानअन्तर्गत चिनियाँ जनमुक्ति सेनाले विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।

सिद्धान्ततः चीनमा हरेक नागरिकले सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ, तर सन् १९४९ मा जनगणतन्त्र घोषणा भएयता यो व्यवस्था लागू भने गरिएको छैन ।लामो समयदेखि चीनले लागू गरेको एक सन्तान नीतिका कारण त्यहाँ सेनामा सेवा गर्न चाहने जनशक्तिको अभाव रहेको बताइन्छ । आफूले पाएको एउटै सन्तानलाई सेनामा भर्ती गराउन परिवारले नमान्ने गरेका छन् ।

त्यसबाहेक एउटै सन्तानका रुपमा धेरै स्नेहका साथ हुर्किएका कारण उनीहरु शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कमजोर हुने समेत बताइएको छ ।