लेबनानमा इजरायली सेनाको आक्रमण, १० लाखभन्दा बढी नागरिक विस्थापित

लेबनानमा इजरायली सेनाको आक्रमण पछि १० लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलको लगातार जारी हवाई आक्रमणका कारण देशभर १० लाखभन्दा बढी नागरिक विस्थापित भएको र ८० हजारले देश छोडेको बताएका छन्। उनीहरू सिरिया तर्फ जान थालेका छन्। 

बीबीसीका अनुसार लेबनानमा यो हालसम्मकै ठूलो विस्थापन रहेको प्रधानमन्त्री मिकातीले बताएका हुन्।यसैबीच, आइतवार भएको इजरायली आक्रमणमा परी ५० जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजबुल्लाहले आइतवार इजरायलले गरेको आक्रमणमा परी आफ्नो शीर्ष कमान्डर अली कराकी र वरिष्ठ धर्म गुरु शेख नाबिल कौकको पनि मृत्यु भएको पुष्टि गरेको छ।

लेबनानका प्रधानमन्त्री मिकातीले इजरायली आक्रमणका कारण लेबनानी नागिरक त्रसित भएको र बेरूत तथा दक्षिणी सीमासँग जोडिएका मुलुकमा भागेर जान थालेको बताएका छन्।