फेसबुक प्रयोगकर्ताको पासवर्ड असुरक्षित, मेटालाई १३ अर्ब रुपैयाँ जरिवाना

 फेसबुकको मातृ कम्पनी मेटाले ९१ मिलियन युरो (साढे १३ अर्ब रुपैयाँ बढी) जरिवाना तिर्नुपर्ने भएको छ । पासवर्ड भण्डारणमा गल्ती गरेको भेटिएपछि आयरल्याण्डको डेटा संरक्षण आयोग (डीपीसी)ले मेटालाई सो रकम बराबरको जरिवाना तिराउने भएको हो ।

मेटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पासवर्ड आन्तरिक प्रणालीमा इनक्रिप्सन बिना भण्डारण गरेको गुनासो अप्रिल २०१९ मा आएपछि डीपीसीले अनुसन्धान थालेको थियो । उक्त अनुसन्धानलाई डीपीसीले जुन २०२४ मा अन्य युरोपेली डेटा नियामकहरूलाई समेत बुझाएको थियो । जसमा कुनै पनि नियामक निकायले विरोध गरेका थिएनन् ।

डीपीसीका अनुसार प्रयोगकर्ताका पासवर्डलाई जस्ताको जस्तै भण्डारण गर्नु हुँदैन । त्यसो गर्दा उक्त डेटामा पहुँच पाउने व्यक्तिहरूले दुरुपयोग गर्न सक्छन् । तर फेसबुकको मातृ कम्पनीले भने सामाजिक सञ्जालको अकाउन्टहरूमा पहुँच पाउने पासवर्डलाई बिना इन्क्रिप्सन जस्ताको जस्तै भण्डारण गरेको थियो ।

डीपीसीको यो निर्णय २६ सेप्टेम्बरमा मेटालाई जानकारी गराइसकिएको बीबीसी लेखेको छ । तर डेटालाई लिएर मेटा जरिवानामा परेको यो पहिलो घटना होइन । यसअघि मे २०२३ मा मेटालाई युरोप र अमेरिकाबीच डेटा स्थानान्तरणमा त्रुटि गरेको भन्दै १.२ अर्ब युरो जरिवाना गराइएको थियो । त्यस जरिवाना पनि आयरल्याण्डको डीपीसीले नै निर्णय गरेको थियो । 

त्यस्तै सन् २०२२ मा १०६ देशका लाखौं प्रयोगकर्ताहरूको डेटा ह्याकर फोरममा सार्वजनिक भएपछि मेटालाई २६५ मिलियन युरो जरिवाना गराइएको थियो ।