बखतबहादुरको उपन्यास ‘भ्या’ लोकार्पण

काठमाडौँ, १३ असोज : साहित्यकार बखतबहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ लोकार्पण गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, संविधानसभा सदस्य रीता शाही, सांसद प्रतिमा गौतम, समीक्षक राजकुमार बानियाँ, शङ्कर तिवारी, सुमन वर्षालगायतले उक्त पुस्तक संयुक्त रूपमा लोकार्पण गर्नुभयो । 
 
साहित्यकार शाहीको तेस्रो साहित्यिक कृति ‘भ्या’ को लोकर्पण गर्दै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले कर्णालीको वास्तविक रूप उपन्यासमा चित्रण भएकाले उपन्यास ऐतिहासिक रहेको बताउनुभयो । समीक्षक बानियाँले उपन्यासले हुम्ला र कार्णालीको समाजलाई बुझ्न सघाउने बताउनुभयो । 

समीक्षक वर्षाले सो पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताउनुभयो । अर्का समीक्षक तिवारीले सो उपन्यासले हुम्लाको भाषा र सांस्कृतिक पक्षलाई उजागर गरेको टिप्पणी गर्नुभयो । शिखा बुक्सद्वारा प्रकाशित उक्त उपन्यासको मूल्य ५२५ रहेको छ ।