गाईजात्राका उत्कृष्ट साँस्कृतिक प्रस्तुतिलाई पुरस्कार प्रदान

 गुन्हीपुन्ही सापारु अर्थात गाईजात्रा २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रस्तुतिमध्ये उत्कृष्टलाई आज साँझ सम्मान एवं पुरस्कार प्रदान गरिएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा  सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उत्कृष्टहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्नुभयो ।

यसवर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १४२ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएका थिए । जसमा नगर प्रमुख प्रजापतिले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु २० हजारका दरले पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै उत्कृष्ट कलाकारलाई जनही रु पाँच हजारका दरले नगद पुरस्कारबाट पुरस्कृत  गर्नुभयो । 

 प्रतियोगितामा फाकंदली प्याखं प्रथम, देवी प्याखं दोश्रो र माक प्याखँ तेश्रो भएका छन् । गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक साँस्कृतिक विधामा मको लुसी प्याखं खल, विदिसा लवजू उत्कृष्ट कलाकार, लक्ष्मीप्रसाद मानन्धर उत्कृष्ट पुरुष पुरस्कार, विनेश खाइजु उत्कृष्ट बाल कलाकार, लक्ष्मीप्रसाद वनमाला उत्कृष्ट निर्देशक र साइला वैद्य उत्कृष्ट लेखकबाट सम्मानित एवं पुरस्कृत हुनुभयो ।

त्यस्तै साँस्कृतिक गुरुहरू देवचन्द्र बज्राचार्य, मङ्गलबहादुर भैल, रामभक्त ब्यान्जु, विकुबहादुर पक्का, हर्षविर धुख्वा, बद्रीभक्त खबुजा, न्हुछेकुमार प्रजापति, चन्द्रबहादुर कपाली, जगनाथ त्वानाबासु, ब्रम्हकाजी दर्शनधारी, आसराम अवाल, गणेशबहादुर सुवाल, नारायणभक्त वनमाला, मोतिलाल लाखाजु, तुल्सीनारायण गोसाई,  कृष्णगोपाल प्याथ, तुल्सीभक्त कोजु, राजाराम श्रेष्ठ, रामचन्द्र सुवाल र काजीलाल मुलगुठीलाई सम्मान गर्नुभयो ।