‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’

काठमाडौँ, १० असोज : पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानास्थित माटेको लेकमा रहेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । उक्त ढुङ्गाखानी विगत १७ वर्षदेखि बन्द अवस्थामा छ । 

तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविस बीचको सिमाना विवादका कारण ढुङ्गाखानी बन्द भएको थियो । ढुङ्गाखानी सञ्चालन गर्न अहिलेसम्म कुनै पनि निकायले पहल गरेको छैन । मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले नोक्सानी बेहोर्नुपरेको छ । साथै स्थानीय सरकारले राजस्व गुमाएको छ । देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी  गरेपछि २०६४ सालदेखि ढुङ्गाखानी बन्द भएको हो । 

सबैले ढुङ्गाखानीमाथि दाबी गर्नथालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका अध्यक्ष नरसिंह पुनले बताउनुभयो । ठूलाछाप सामुदायिक वनमा पर्ने उक्त ढुङ्गाखानी समुदायलाई हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको उहाँको भनाइ छ । 

खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहँुदा प्रयोगविहीन छ । “खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए”, अध्यक्ष पुनले भन्नुभयो । यहाँ निकालिएका ढुङ्गा पर्वत, बाग्लुङ, म्याग्दीलगायत देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरिएको उहाँले बताउनुभयो । 

खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी जीविकोपार्जन गर्दै आउनुभएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी खोसिएको छ । धेरैजसो स्थानीय युवा विदेश पलायन भएका छन् । उहाँले ढुङ्गाखानीमा झण्डै १० वर्षसम्म काम गर्नुभएको थियो । जस्तापाताभन्दा ढुङ्गा बलिया र टिकाउ भएकाले धेरैले घर ढुङ्गाले छाउन मन पराउने गरेको विक बताउनुहुन्छ । 

एकपटक छाएको घर दुई÷तीन पुस्तासम्म पुग्ने स्थानीयवासी बताउँछन् । खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक लाखौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताउनुभयो । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । यसअघि केहीले ढुङ्गा कुँद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आएका थिए । उत्तरी पर्वतका अधिकांश वडाका प्रायजसो घर ढुङ्गाले छाएका छन् । 

 “पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए”, स्थानीय हर्कबहादुर पुनले भन्नुभयो, “अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।”  खानी सञ्चालन गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन आउने उहाँको भनाइ छ । “अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यता छ”, स्थानीय गङ्गाबहादुर विकले भन्नुभयो । 

स्थानीयलाई रोजगारी दिन खानी सञ्चालनमा ल्याउनुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । खानी सञ्चालन गर्न डिभिजन वन कार्यालय, खानी तथा भूगर्भ विभागलगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।